भारतीय बुलेट ट्रेनमा जापानी सहयोग, मुम्बईपछि वाराणसीमा तयारी

भारतीय बुलेट ट्रेनमा जापानी सहयोग, मुम्बईपछि वाराणसीमा तयारी

भारतको एक मात्र उच्च गतिको रेल परियोजना ‘मुम्बई अहमदाबाद’ को निर्माण अघि बढेको छ । जापानको सहयोगमा थालिएको परियोजनाको काम लगभग आधा सम्पन्न हुन लागेको बताइएको छ ।

यसैबीच भारतको आवास तथा शहरी मामिला मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सम्झौता गरेको छ । मुम्बई–अहमदाबाद ‘हाईस्पीड’ रेलमा चार वटा स्टेशन बनाउन उक्त सम्झौता भएको बताइएको छ । 

आगामी डिसेम्बरसम्ममा उक्त परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रेल मन्त्रालयले जनाएको छ । महाराष्ट्र र गुजरात राज्य जोड्ने उक्त रेल मार्गको महाराष्ट्रमा १३ दशमलव ७२ प्रतिशत काम पूरा भइसकेको छ ।

गुजरातमा ५२ प्रतिशतभन्दा बढी सिभिलतर्फको काम सकिएको छ । २५७ दशमलव ६ किलोमिटर पाइलिङ कार्य सम्पन्न भएको पनि जनाइएको छ ।

रेलमार्ग बनाउने क्रममा काटिएका रुखविरुवामध्ये आठ हजार रुख र ८३ हजार ६९९ बिरुवा रोपिएको छ । निर्माण सम्पन्न भएपछि सो मार्गमा बुलेट ट्रेन ३२० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्नेछ ।

कुल ५०८ किलोमिटरको दूरीको उक्त मार्गमा १२ स्टेशन हुनेछ । दैनिक ३५ एकतर्फी रेल गुड्ने छ । ‘पीक आवर’ मा प्रत्येक २० मीनेटमा एउटा रेल गुड्ने जनाइएको छ । अन्य समयमा ३० मीनेटको अन्तरमा रेल गुड्ने छ ।

परियोजनाको कुल लागत १ अर्ब १० करोड भारतीय रुपैयाँ अनुमान गरिएको छ । 

यता, वाराणसी र नयाँ दिल्लीबीच पनि यस्तै परियोजना निर्माणको तयारी भएको छ । १३ वटा स्टेशन हुने उक्त रेल मार्गको दूरी ९८५ किलोमिटर हुनेछ ।  

नयाँ दिल्लीबाट नोएडा, आगरा, मथुरा, लखनउ, अयोध्या, रायबरीली, प्रयागराज हुँदै वाराणसीसम्म बुलेट ट्रेन गुड्नेछ ।

टिप्पणीहरू