पहिले पानी बाराबार, शरणार्थी प्रकरणपछि भेट बारबार

पहिले पानी बाराबार, शरणार्थी प्रकरणपछि भेट बारबार

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटघाट भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको बताइन्छ ।

नेकपा विवाद, २०७८ असारमा गठित देउवा नेतृत्वको सरकार र गत माघ अन्तिम साता दाहाल नेतृत्वको सरकारले संसदमा लिएको विश्वासको मतपछि एमाले अध्यक्ष देउवा र दाहालसँग निकै टाढिनुभएको थियो । तर, बैशाख २० गते दिउँसो एकाएक एमाले सचिव टोपबहादुर रायमाझीसहित उच्चपदस्थ अधिकारी र राजनीतिक दलका नेताहरुको पक्राउ र पक्राउ पुर्जी जारीपछि उहाँहरुको सम्बन्ध अस्वाभाविक ढंगले नजिकिएको छ । 

वैशाख पहिलो साता डाकिएको संवैधानिक परिषद्को बैठकमा समेत हलो अड्काएका शीर्ष नेताहरु पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्राउ,रायमाझी फरार र देउवा तथा खाँणकी पत्नीहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि सामिप्यता लोकले पचाउन नसक्नेगरी बाक्लिएको छ । सोही क्रममा आज बिहान बालुवाटारमा पुनः भेटघाट भएको हो ।

एमाले अध्यक्ष ओलीले आगामी जेठ ४ गते प्रकरणमा लुकेका पक्ष र झण्डै पाँँच सय जना शरणार्थी बनेर अमेरिका गइसकेको विषयमा विस्तृत जानकारी गराउने सार्वजनिक रुपमा बताएपछि उहाँहरुबीच पुनः भेट भएको आकलन गरिएको छ । हिजोसम्म ओली पार्टी केन्द्रीय समिति र स्थायी समिति बैठकमा व्यस्त हुनुहुन्थ्यो ।

टिप्पणीहरू