रक्सीले मातेपछि टुहुरो साथीमाथि छुरा प्रहार

रक्सीले मातेपछि टुहुरो साथीमाथि छुरा प्रहार

धादिङको गल्छी गाउँपालिकास्थित सान्दार होटलका मालिक निरज पण्डितले होटलका एक जना ग्राहकको निर्मम तरिकाले हत्या गरेको तीन दिन नबित्दै लमजुङमा पनि त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ ।

अस्ति मध्यनेपाल नगरपालिका–८ स्थित ३ मेगावाट मिदिमखोला जलविद्युत आयोजनाको ड्याम मर्मतका लागि २४ दिनअघि लमजुङ आएका रुपाकोट मजुवागढी नगरपालिका–१५, खोटाङ, दिक्तेलका २९ वर्षीय अर्जुन रम्तेलले आफ्नै साथी २४ वर्षीय सुनिल श्रेष्ठको निर्मम हत्या गरेका छन् । शुक्रबार रातको साढे १० बजेसम्म रक्सीले मातेका उनले तरकारी काट्ने चक्कुले सुनिलको तिघ्रामा प्रहार गर्दा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार मृतक सुनिल र हत्यारा अर्जुन मिल्ने साथी थिए । आमा सानैमा बितेपछि बाबुले कान्छी च्यापेर अलपत्र हुँदा खोटाङबाट काठमाडौं आएका सुनिल उनै अर्जुनसँगै लमजुङ पुगेका थिए । काठमाडौंमा पनि नजिकै बसोबास गरेका उनीहरु एक अर्काको कोठामा आउजाउ गर्ने गरेको पाइएको छ ।

सुनिल अविवाहित हुन् भने अर्जुन ३ वर्षे सन्तानका बाबु । आयोजनाको क्याम्पमै बसेका उनीहरुले अस्ति पाँच रुपैयाँ बोट राखेर नौपत्ती तास खेलेका थिए । त्यो दिन खाना पनि अर्जुनले नै बनाएको तथ्य खुलेको छ । तर, रक्सी खाँदै गर्दा घरायसी विषयमा निस्केको विवाद बढ्दै गएपछि सुनिललाई चक्कुले हानेर घाइते बनाए । ज्यान जोगाउन भागेका सुनिललाई अर्जुनले पिछा गर्न छाडेनन् । 

अर्धचेतमै सुनिलले ‘मार्यो, बचाओ !’ भन्दै चिच्याएको आवाजले अर्को ब्लकमा सुतेका डम्बर गुरुङले चाल पाएर उठ्दा रक्ताम्य थिए उनी । अर्जुन भने चक्कु लिएर हत्या गर्ने मनसायमै देखिन्थे । त्यसपछि तत्काल इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरीलाई खबर गरियो । 

प्रहरी नायव निरीक्षक दीपक रानाको टोली पुगेर अर्जुनलाई नियन्त्रणमा लिनुका साथै घाइतेलाई सँगै राखी भोर्लेटार स्वास्थ केन्द्रमा प्राथमिक उपचार गरेर पोखरास्थित गण्डकी अस्पताल लैजाँदै गर्दा रामबजार नजिकै सुनिलको प्राण गएको बताइन्छ ।
 
प्रहरीका अनुसार घाइतेलाई गाडीमा ल्याउदासमेत अर्जुनले साँप्रामा टोकिदिएका थिए । मार्ने नियतले आफूले चक्कु प्रहार नगरेको तर नशाको लतमा तर्साउन खोज्दा गहिरो चोट लाग्न पुगेको उनले बयानमा स्वीकार गरेका छन् ।

 
जिल्ला प्रहरी कार्यालय लमजुङको नियन्त्रणमा रहेका अर्जुनलाई आज अदालतमा म्याद थपको लागि उपस्थित गराएर कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा चलाउने प्रक्रिया शुरु गरेको कार्यालयले जनाएको छ ।

यसअघि गल्छीका होटल साहुले स्थानीय विनोद थापा मगरलाई पेटमा चक्कु रोपेर मोटरसाइकलले किचेर निर्ममतापूर्वक मारेका थिए ।

टिप्पणीहरू