आरजुमाथि आरोप लाग्दा तरुण दलको चित्त दु:खाई

आरजुमाथि आरोप लाग्दा तरुण दलको चित्त दु:खाई

नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा-पत्नी डा.आरजु राणालाई नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछेर उनको चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएको छ। 

आज विज्ञप्ति जारी गर्दै अध्यक्ष विद्वान गुरुङले प्रहरी अनुसन्धान चलिरहेका बेला अनावश्यकरुपमा सांसदसमेत रहेकी राणाको नाम जोडी चरित्र हत्या गरिएको भन्दै असन्तुष्टी जनाएका हुन् । विभिन्न सञ्चार माध्यममा राणा विदेश भागेको भन्ने समाचारको पनि उनले खण्डन गरेका छन् । 

‘नेपाली कांग्रेसको केन्द्रीय सदस्य सांसद डा.आरजु राणा देउवाको विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरुप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

भूटानी शरणार्थी प्रकरण अनुसन्धानमै रहेको अवस्थामा कुनै ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध हुने उल्लेख गर्दै विज्ञप्तिमा यसप्रति सबै सरोकारवालाहरुलाई सचेत रहन आग्रह पनि गरिएको छ । 

साथै,जारी अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकार,गृह मन्त्रालय र प्रहरीलाई आफ्नो पूर्ण सहयोग रहने तरुण दलको प्रतिबध्दता छ ।

टिप्पणीहरू