नक्कली शरणार्थी प्रकरणका अभियुक्तसँग आफ्नो गोरु बेचेको साइनो नरहेको विदुरको दाबी

नक्कली शरणार्थी प्रकरणका अभियुक्तसँग आफ्नो गोरु बेचेको साइनो नरहेको विदुरको दाबी

सर्वसाधारण नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौँ रकम ठगेको अभियोगमा प्रहरी हिरासतमा रहेका सानु भण्डारीसँग पार्टनरशिपमा व्यवसाय गरेको समाचारको विदुर ढुंगानाले खण्डन गरेका छन् ।     

अस्ति जनआस्था डट कममा ‘शरणार्थी काण्ड उठाउनेकै धन्दा पनि अचम्मको’ शीर्षकमा समाचार सम्प्रेषण भएको थियो । उक्त समाचारमा सानुले पूर्वडिआईजी भरतबहादुर जिसी, अशोक पोखरेल र विदुर ढुंगानासँग मिलेर  ‘हेल्लो नेपाल’ नामको मोबाइल सिम र रिचार्ज कार्ड बेच्ने अफिसको आवरणमा काठमाडौँको तीनकुनेमा कार्यालय सञ्चालन गरेर गैरकानुनी काम गर्ने गरेको उल्लेख थियो ।   

तर, समाचार सम्प्रेषणलगत्तै त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेका ढुंगानाले आज लिखित खण्डन पठाएका हुन् । भनेका छन्, ‘समाचारको स्रोत, तथ्य, वस्तुस्थिति नितान्त रुपमा काल्पनिक, मनगढन्ते भ्रामक हुनुका साथै मेरो चरित्रहत्या गर्ने कुत्सित मनसाथबाट प्रेरित भएकोमा खेद प्रकट गर्न चाहन्छु ।’ 

तथापि ११ वर्षअघि उक्त कार्यालयमा आफ्नो आउजाउ भने भएको स्वीकार गरेका उनले व्यावसायिक साझेदारी नरहेको बताएका छन् । ‘आजभन्दा लगभग ११ वर्ष पहिले तीनकुनेमा रहेको हेल्लो नेपालको अफिसमा भरत जिसी सरलाई भेटेर चिया खाने प्रयोजनका लागि मात्र कहिले काँही जाने आउने गर्थे । बाँकी मेरो कुनै काम थिएन’, ढुंगानाले अगाडि भनेका छन्, ‘हेल्लो नेपाल मोबाइलमा मेरो शेयरलगायत केही छैन र कुनै पनि प्रकारको संलग्नता छैन र थिएन पनि ।’ 
 
आफूले वैदेशिक रोजगारीका लागि मान्छे बाहिर पठाउने कुनै काम नगरेको दाबी गरेका उनले भविष्यमा पनि त्यस्तो काम गर्ने योजना नरहेको समेत प्रष्ट्याएका छन् । ‘गैरकानूनी, अवैधानिक कुनै काम मबाट भएको छैन र गर्दिन पनि’, समाचारको खण्डनमा ढुंगानाले लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी काण्डमा गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने कुरामा मेरो ऐक्यबद्धता रहेको स्पष्ट पार्न चाहन्छु ।’

जनआस्थाले भने विश्वासिलो स्रोतलाई आधार बनाएर ’हेल्लो नेपाल’ नामको मोबाइल सिम र रिचार्ज कार्ड बेच्ने अफिसको आडमा सानुसहितको गिरोहले त्यसलाई मानव तस्करीको अखडा बनाएको समाचार लेखेको हो ।

यो पनि...

1. शरणार्थी काण्ड उठाउनेकै धन्दा पनि अचम्मको

टिप्पणीहरू