पेट्रोल ढुवानी गर्ने ट्याङ्करले नै पेट्रोलियम पदार्थ चोरेपछि...

पेट्रोल ढुवानी गर्ने ट्याङ्करले नै पेट्रोलियम पदार्थ चोरेपछि...

नेपाल आयल निगमले बेतालपुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने एक ट्याङ्कर कम्पनीलाई कारबाही गरेको छ । निगमसँग करार सम्झौतापछि सञ्चालनमा रहेको श्री एक्सप्रेस परिवहन सेवा प्रालि, रुपन्देहीलाई कारबाही गरिएको जनाइएको छ । 

उक्त प्रालिको लु.२.४८३९ (२० किलोलिटर क्षमता) नम्बरको ट्याङ्करले ढुवानी गरेर पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा चेकजाँच गरिएको थियो । सो क्रममा बिलबिजकभन्दा बढी परिमाणमा पेट्रोल ढुवानी गरेको पाइएपछि भन्सार कार्यालयले ट्रकलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पेट्रोल चोरी पैठारी कसूरमा कारबाही अगाडि बढाइएको हुँदा उक्त ट्याङ्कर ढुवानीकर्ता र चालकलाई ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ (तेस्रो संशोधनसहित)’ कारबाही गरिएको निगमले जनाएको छ । 

जसअनुसार उक्त ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुलउपर गरिनेछ । त्यस्तै, तीन महिनाको निम्ति ढुवानी गर्न नपाइने गरी निलम्बन गरिएको निगमको भनाइ छ । 
साथै, सो ट्याङ्कर चालकलाई निगमको सम्पूर्ण डिपोमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सँधैका लागि बन्देज लगाउने निर्णयसमेत गरिएको प्राप्त निर्णयमा उल्लेख छ ।

टिप्पणीहरू