कम्बोडियामा पठाइदिने नाममा १६ लाख ठगी
वैदेशिक रोजगारीमा कम्बोडिया पठाइदिने नाममा ठग्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका सिद्धार्थ तामाङ प्रहरी हिरासतमा पुगेका हुन् ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वरबाट हिजो उनलाई नियन्त्रणमा लिएको हो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल घर भएका र हाल गोकर्णेश्वर बस्दै आएका २९ वर्षीय सिद्धार्थले वैदेशिक रोजगारीमा कम्बोडिया पठाइदिने र त्यहाँ पुगेपछि क्यासिनोमा काम लगाइदिने प्रलोभनमा फसाएको खुल्न आएको छ ।
कम्बोडिया जान प्रतिव्यक्ति १० लाख लाग्ने र मासिक १ लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितहरुबाट पटक पटक गरी १६ लाख उठाएपछि उनी सम्पर्कविहीन भएका थिए ।
आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगारी विभाग गुहारेका हुन् । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढायो ।
सोही क्रममा हिजो पक्राउ परेका उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू