महिला भेलामा ज्ञानेन्द्रको मनपरी
‘बूढाखाडा’ बाँकी नै छन्, ‘तन्नेरी’ लाई रिस ! हुटिङ गराउँदा र ठुस्केर बस्दा पनि केही सीप चलेन । बीचैमा हात हल्लाउँदै, हिँडे । त्यसलाई पनि कसैले ‘बाल मतलव’ दिएनन् ।
जुम्लाबाट राप्रपाको टिकटमा सांसद भएका ‘भाइरलम्यान’ ज्ञानेन्द्र शाहीले भनेजस्तो मान नपाएपछि लुत्रुक्क परेर मञ्च छाडेको प्रसंग हो यो । राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको प्रज्ञा भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा शुरुमै उनी मञ्चमा बोलाइएनन् । त्यसपछि उनीपक्षीय, इन्दिरा शाही र गीता शाहलगायत केही महिलाले हुटिङ गरे, अनि बल्ल उनको नाम पढियो । आसन ग्रहण गरे, बोल्ने पालोचाहिँ आएन । त्यसपछि सबैसँग बिदा माग्न हात हल्लाउँदै मञ्चबाट बाहिरिए । तर, कसैले ‘रेस्पोन्स’ गरेन, अर्थात् हात हल्लाएबापतको जवाफ पाएनन् । उनीसँगै त्यहाँ पुगेका एक जना युट्युबरले भने उनले हात हल्लाउँदा कुनाबाट आफ्नो पनि हात हल्लाइदिए ।
खासमा उक्त कार्यक्रममा पार्टीका पुराना र ‘बूढाखाडा’ नेतासमेतको बोल्ने पालो आएन । वैशाख २४ गते आइतबार दिउँसोको आसन ग्रहणमा पनि ‘बूढा’ हरू परिरहेका थिएनन् । त्यहाँ पञ्चायतकालीन गृहमन्त्री निरञ्जन थापा थिए, जो पार्टीको सल्लाहकार समितिका अध्यक्ष हुन् । अरु त अरु, ज्ञानेन्द्रभन्दा निकै सिनियर र कमल थापालाई चुनाव हराउने मकवानपुरे दीपकबहादुर सिंहले पनि ठाउँ पाएका थिएनन् । मञ्चमा प्रदेश र संघका सांसद थिए । उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले बोल्न पाएनन् । कोषाध्यक्ष नीलकण्ठ काफ्ले पनि बोल्न नपाउनेमा थिए । संगठन अध्यक्ष अञ्जना शाह रावल र पार्टी महामन्त्रीमध्ये कुन्ती शाही महिला विभाग प्रमुख भएका कारण बोल्ने भइहाले । अर्का महामन्त्री राजेन्द्र गुरुङ सचिवालयमा छन् । महिला उपाध्यक्ष रोशन कार्की त्यसै पनि महिला भएकाले बोल्ने भइन् । रोशनभन्दा सिनियर उपाध्यक्ष थिए, बुद्धिमान तामाङ, विक्रम पाण्डे, दीपक बोहरा, चीन जान लागेका महामन्त्री धवलसमशेरहरू । उनीहरूकै पालो आएन, ज्ञानेन्द्रमात्रै फन्किएर हिँडे । यी सबका बाबजुद ज्ञानेन्द्रले बाहिर गएर मान्छे उचाले र फेरि भित्र पसे । तैपनि, कसैले भाउ नदिएपछि मुर्मुरिएर उनी दिनहुँ आफ्नो खर्चमा ४–५ जना युट्युबर बोकेर हिँड्ने र हिरोइज्म देखाउने गरिरहेकै छन् । माननीय बीना लामा, बीना जैसवाल, अनिषा नेपालीहरू ज्ञानेन्द्रको चालामाला देखेर उसै दंग ।
अर्कातिर, राप्रपाको हातल कस्तो छ भने, विधानतः १ सय ९९ सदस्यीय केन्द्रीय समिति हुनुपर्नेमा मान्छेहरूको नाम थप्दाथप्दै ३ सय नाघिसक्यो ।
(जनआस्था साप्ताहिकबाट साभार)
टिप्पणीहरू