अमेरिका जान नपाएपछि मेयर रिसले आगो, सिंहदरबारका सचिव र उपसचिवले ‘बार्गेनिङ’ गरेको आरोप
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले संघीय सरकारका अधिकृतहरुमाथि बार्गेनिङ गरेको आरोप लगाएका छन् । अमेरिकाको न्यूयोर्कमा मे २१ मा हुन लागेको ‘नेपाल डे परेड’ मा जान नपाएपछि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र उपसचिव प्रल्हाद कार्कीमाथि बार्गेनिङको गम्भीर आरोप लगाएका हुन् ।
‘अनुचित लाभ लिने अपेक्षाले बार्गेनिङ गरेका उनीहरुको शर्त नमानेपछि आफ्नो भ्रमणमा असहयोग गरेको,’ अध्यक्ष शेर्पाको जिकिर छ । मन्त्रालयका दुई अधिकारीका कारण आफ्नो भ्रमण तयारी समयमा पूरा हुन नसकेको उनी बताउँछन् ।
आफूलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रित गरिएको कार्यक्रममा सहभागिताको आधिकारिक पुष्टिका लागि वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले संघीय मामिला मन्त्रालयलाई पत्र पठाएको उनले बताए ।
उनका अनुसार नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले गत वैशाख ३१ गते आफ्नो भ्रमण स्वीकृत गरेको थियो । तर आज सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले भ्रमणको तयारी पूरा हुन नसकेको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘मेरो भ्रमणसँग सम्बन्धित आवश्यक डकुमेण्टको विषयमा मन्त्रालयको सम्बन्धित शाखामा सम्पर्क राख्दा अनुचित लाभको अपेक्षासहित बार्गेनिङ गरि उपसचिव प्रल्हाद कार्की र सचिव कृष्णहरि पुस्करले असहयोग गरेको कारण मेरो भ्रमण तयारी समयमा पूरा हुन सकेन ।’
आज सोही विषयमा संघीय मामिलामन्त्री अमनलाल मोदीसंग पनि छलफल भएको अध्यक्ष शेर्पाले जानकारी दिए । सचिव र उपसचिवले माफीसमेत मागिसकेको उल्लेख गर्दै उनले भने, ‘यो विषयमा मन्त्रीज्युसँग कुरा भयो । उहाँहरुले अमेरिकाबाट आउँदा कोशेली ल्याइदिनुभयो भने काम अगाडि बढाइदिन्छु भन्नुभएको थियो । मैले त्यसलाई वास्तै गरिनँ । जसका कारण भ्रमण स्वीकृत त भयो तर ढिलो । अहिले तयारी गर्न पुग्ने समय छैन ।’
उनले आफू उक्त कार्यक्रममा सहभागी हुने सम्भावना निकै कम रहेको उल्लेख गरे । वैदेशिक भ्रमणको क्रममा अनावश्यक दुःख नदिन मन्त्रालयका कर्मचारीलाई आग्रहसमेत गरेका छन् ।
टिप्पणीहरू