काँग्रेसको विरोधी खेमाले मुलुकभर छुट्टै भेला गर्ने
नेपाली काँग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले मुलुकभर अलग्गै भेला गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति रुष्ट रहेका इतर खेमा भनिने शेखर कोइराला समूहले ‘रुपान्तरण अभियान’ का नाममा देशैभर आफ्नो पक्षको छुट्टै भेला गर्न लागेको बताइएको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलयायत नेताहरुले अलग्गै अभियानको घोषणा गरे । जसअनुसार जनकपुरबाट शुरु हुने प्रदेशस्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर टुंगिने छ ।
घोषित कार्यक्रमअनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको जेठ १६ गते काठमाडौंमा हुनेछ । त्यस्तै, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णालीको पर्सिपल्ट सुर्खेतमा, सुदुरपश्चिमको जेठ २६ गते धनगढीमा र जेठ २९ गते कोशी प्रदेशको भेला इटहरीमा हुनेछ ।
काँग्रेसलाई रुपान्तरण गराउन उक्त भेला आयोजना गर्न लागिएको इतर खेमाका नेताहरुको दाबी छ ।


टिप्पणीहरू