एमाले नेतामाथि पहिचानावादीहरुद्वारा ढुंगामुढा
प्रदेश १ को नाम कोशी राखेकोमा असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेको पहिचानवादी समूहले एमाले सांसद रामबहादुर मगरमाथि आक्रमण गरेका छन् ।
एमाले कोशी प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मगरमाथि इलाममा आक्रमण भएको हो । इलामको माङसेबुङ गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा भाग लिन जाने क्रममा उनी सवार गाडीमा ढुंगामुढा भएको बताइएको छ । आक्रमणबाट गाडीको सिसा फुटेको इलाम प्रहरीले जनाएको छ ।
प्रदेशको नामाकरण भएदेखि नै पूर्वका विभिन्न जातीय संघ संगठनहरुले लामो समयदेखि कोशी नाम खारेज गर्न माग राख्दै आन्दोलन चर्काइरहेका छन् । उनीहरुले सरकारी कार्यालयमा ’कोशी’ लेखिएको बोर्ड हटाउने, कोशी नाम पारित गराउन मतदान गरेका प्रदेशका सांसद र पार्टीका नेतालाई बहिष्कार गर्नेदेखि उनीहरुका घरमा कालो झण्डा गाढ्नेसम्मका गतिविधि अघि बढाइरहेका छन् ।
यहीक्रममा केही समयअघि गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि आन्दोलनकारीहरुले ढुंगामुढाको प्रयास भएको थियो । त्यस्तै, मुख्यमन्त्री हिम्मत कार्की र माओवादी केन्द्र संसदीय दलका नेता मौसम लिम्बु पनि आन्दोलनकारीको निशानामा परेका थिए ।
आन्दोलनकै क्रममा विराटनगरमा पदम लिम्बूको मृत्यु भएपछि पहिचान पक्षधरहरु थप आक्रोशित छन् ।

टिप्पणीहरू