टेलिकमको काम, मुखमा माड जाम

टेलिकमको काम, मुखमा माड जाम

नेपाल टेलिकमको फाइबरमा काम गरेकाहरूले लामो समयदेखि ज्याला पाएका छैनन् । उनीहरू कानुनी उपचार खोज्ने तयारीमा छन् ।

चन्द्रगढी झापादेखि इलामसम्म नेपाल टेलिकमको अप्टिकल फाइबर लाइन बिछ्याउने ठेक्का लिएका राम्चे निर्माण सेवाका प्रोप्राइटर मोहन खत्री दाहालले कामदारको लाखौं रकम नदिएको पीडित कामदारले बताएका छन् । काम गरेको पैसा माग्दा पनि पटक–पटक ढाँट्ने गरेको पीडितहरूको गुनासो छ । चार लाख रूपैयाँको चेक दिएको तर खातामा पैसा नभएपछि नसाटिएको इलाम नगरपालिका–१० का कुलबहादुर तामाङले बताए । ‘ठेकेदारको घर उदयपुरको गाईघाट नै गएर १९ दिन बस्दा पनि पैसा दिएन’ तामाङले भने, ‘ठेकेदार त्यहाँबाट भागेर इटहरी आएछन्, त्यहाँबाट पनि भागे ।’ ठेकेदारले २०७९ चैतमै चेक दिएको उनले बताए । 

इलाम नगरपालिका–१० का वेदबहादुर मगरको पनि ठेकेदारले १० लाख ३४ हजार रूपैयाँ भुक्तानी दिएका छैनन् । उनले फाइबर पुर्नका लागि गिट्टी बालुवा ठेकेदारलाई दिएका थिए । उनलाई ठेकेदारले चेक भने दिएका छन् । आफ्नो ट्र्याक्टरको किस्ता र घर व्यवहारसमेत चलाउन गाह्रो भएको ठेकेदारले दिन्छु भन्दै लामो समय पैसा नदिएको उनले बताए । इलाम नगरपालिका–९ का टीकाराम चौहानले पनि ठेकेदारबाट आफूले ११ लाखभन्दा बढी रकम पाउनुपर्ने बताए । पटक पटक माग्दा पनि झुलाउने गरेको उनैले बताए । वडाध्यक्षको रोहवरमा पैसा तिर्छु भनेर कागज गरेको छ तर भाखा नाघ्दा पनि पैसा दिएको छैन, चौहानले भने, ‘ठेकेदारले अब पनि नदिए कानुनी उपचारमा जान्छौं ।’

कोरियन कम्पनी एलएस केबलबाट ठेक्का लिएको राम्चे निर्माण सेवाले २०७६ पुसबाट झापा इलामबीचको अप्टिकल फाइबर बिछ्याउने ठेक्का लिएको हो । नौ करोडभन्दा बढी रकममा ठेक्का लिएको राम्चेले यो बीचका कामदारको मात्र होइन, कामदार ल्याएको गाडीभाडा र तिनलाई बास र खाना खुवाएको होटलहरूको पनि पैसा भुक्तानी गरेको छैन । 

यता, राम्चे निर्माण सेवाकै कल्याण खत्रीले भने आफूले नै भुक्तानी नपाएकाले केही रकम तिर्न बाँकी रहेको बताएका छन् । उनले जेठ १५ गतेसम्म आफूले सबैको रकम भुक्तानी गर्ने बताएका छन् । काम सम्पन्न भइसकेकाले अब प्राविधिक प्रतिवेदन बुझाउनेबित्तिकै भुक्तानी लिएर सबैको रकम तिर्ने उनले बताए । 
 

टिप्पणीहरू