बागलुङमा नगरपालिका वडा सदस्यहरुको मञ्च

बागलुङमा नगरपालिका वडा सदस्यहरुको मञ्च

स्थानीय तहमा निर्वाचन भएको एक वर्षपछि बागलुङ नगरपालिकाका वडा सदस्यहरु संगठित भएका छन् । उनीहरुले आफ्नो हकहित र अधिकारका लागि बागलुङमा वडा सदस्य मञ्च गठन गरेका हुन् ।

बागलुङ नगरपालिकामा निर्वाचित १४ वटा वडाका सदस्यहरुको  बागलुङ सदरमुकाममा भएको भेलाले मञ्च गठन गरेको बताइएको छ ।  

वडा सदस्यहरुको ‘हकहित, अधिकार र भूमिका, समृद्धि बागलुङ नगरपालिका’ बनाउने उद्देश्यका साथ अर्जुन घिमिरेको संयोजकत्वमा १९ सदस्यीय वडा सदस्य मञ्च गठन गरिएको छ । मञ्चको सह–संयोजकमा चक्रपाणि शर्मा, आशा केसी रोका, सचिव दुर्गाबहादुर बोहोरा, सहसचिव कृष्णप्रसाद सापकोटा र कोषाध्यक्षमा विदेशकुमार श्रेष्ठ छन् । समितिमा १३ जना सदस्यले प्रतिनिधित्व गरेका छन् ।

नगरपालिकाभित्रको चौतर्फी विकासमा टेवा पुर्याउन मञ्च गठन गरिएको संयोजक अर्जुन घिमिरेले बताए । ‘नगरभित्रका वडा सदस्यहरुको सहयोग विना कुनैपनि काम अपुरो हुने छ’, संयोजक घिमिरेले भने, ‘नगरपालिकामा सदस्यहरुको भूमिका गुमनाम जस्तो भएकाले मञ्च गठन गरिएको हो ।’  

वडा सदस्य मञ्च गठनबारे आज नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई जानकारी गराउने संयोजक घिमिरेले बताए । बागलुङ नगरपालिकाभित्र ४८ जना वडा सदस्य रहेकामा भेलामा ४५ जनाको उपस्थिति थियो ।

टिप्पणीहरू