अबको चुनावबाट बहुमत ल्याउने कमरेडी अस्त्र

अबको चुनावबाट बहुमत ल्याउने कमरेडी अस्त्र

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निकट सहयोगी  एवं एमाले उपमहासचिव विष्णु रिमाल सामाजिक सञ्जालमा यतिबेला मजाकको पात्र बनिरहेका छन् । कारण हो उनले गरेको– फेसबुक पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आए पार्टीले बहुमत ल्याउने दावी  !

उनी हिजोआज फेसबुकको ‘लाइक–कमेन्ट–शेयर’मै अल्झिएको एमालेवृत्तमा टिकाटिप्पणी भइरहेको छ । काठमाडौँ महानगरका मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङले फेसबुक पेजमा कति ‘लाइक–कमेन्ट’ पाउँछन् भनेर उनी विश्लेषण गर्दै बसिरहेका रहेछन् ।

‘कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आयो भने पार्टीले बहुमत ल्यायो,’ रिमालले एउटा भिडियाेमा भनेका छन् । स्राेतकाअनुसार चुनावअघिकाे त्याे भिडियाे अहिले भाइरल भइरहेकाे छ ।

खासमा उनी एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदाका मुख्य सहयोगी र ‘केपी शर्मा ओली’ नामक फेसबुक पेजको प्रयोगकर्ता हुन् ।  एक पाेलिटव्यूराे सदस्यकाअनुसार रिमाल आफैँले अध्यक्ष ओलीको ‘फेसबुक,ट्विटर र टिकटक’ पेज चलाइदिन्छन् ।

बेलाबेला सार्वजनिक समारोहमा बोल्न नजानेर वा गलत शब्द चयन गर्दा विवादित बन्ने गरेका रिमाललाई पार्टीका अन्य नेताहरू ‘समानुपातिक नेता’ भनेर जिस्क्याउँछन्।

एमाले नेताहरू भन्छन्– रिमालले अघिल्लो कार्यकालमा सांसद र अहिले पार्टीको उपमहासचिव पद जितेर पाएका  होइनन्,ओलीको गुणगान गाउँदा पुरस्कार भेटेका हुन्।

‘रिमालजीले वडाध्यक्ष पनि जित्नुहुन्न नि,उहाँ सधैं छानिने हो,जित्ने होइन । एमालेको नवौं  महाधिवेनमा अरुले पदाधिकारी जित्दा उहाँले सचिवमै हार्नुभयो । रिमालजी फेसबुके नेता हो । फेसबुकमा लाइक–कमेन्ट धेरै आएपछि एमालेले बहुमत ल्याउँछ भन्नुहुन्छ,’ ओलीनिकट पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले धुलिखेलका मेयर अशोक ब्यान्जुसहितलाई छेवैमा राखेर बताए ।

टिप्पणीहरू