ठगको नयाँ प्रलोभन : दुबईको पोल्ट्री फार्ममा रोजगारी

ठगको नयाँ प्रलोभन : दुबईको पोल्ट्री फार्ममा रोजगारी

वैदेशिक रोजगारीमा दुबई पठाइदिने नाममा ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा  सर्वसाधारणलाई ठग्दै आएका उमेश रिमाल समातिएका हुन् । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज उनलाई काठमाडौँको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

काभ्रेपलाञ्चाेक घर भएका र हाल काठमाडौँको बूढानीलकण्ठ बस्दै आएका २९ वर्षीय उमेशले वैदेशिक रोजगारीमा दुबई पठाइदिने र त्यहाँ पुगेपछि कुखुरा फार्ममा आकर्षका काम लगाइदिने प्रलोभनमा ठगेको खुलेको हो । 

दुबई जान प्रतिव्यक्ति दुई लाख लाग्ने र मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबको प्रलोभनमा पीडितहरुबाट पटक पटक गरेर साढे नौ लाख उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । प्रहरीले खोजतलास थालेपछि उनी आज पक्राउ परेको जानकारी दिइएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू