नीति कार्यक्रम कल्पनाको पुलिन्दा होइन, कार्यान्वयन हुन्छ - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थमा आधारित रहेकाले कार्यान्वयन हुने बताउनुभएको छ ।
आजको राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा भएको विपक्षीको आरोपको खण्डनसमेत गर्नुभयो । छुटेका विषयलाई बजेटमा सम्बोधन गरिने पनि उहाँको भनाई छ ।
राष्ट्रिय आकांक्षालाई आत्मसाथ गरेको नीति तथा कार्यक्रमले संघीयताको सुदृढीकरण, अर्थतन्त्रको पुनर्संरचना, कृषिमा आधुनिकीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएको प्रधानमन्त्रीले दाबीसमेत गर्नुभयो । अर्थतन्त्रको पुनर्संरचनालाई प्राथमिकतामा राख्दै कृषि, उद्योग तथा सेवा क्षेत्रलाई सन्तुलित रुपमा अगाडि बढाउने विषयलाई नीति कार्यक्रममा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रममा राजनीतिक पूर्वाग्राह नराखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले विगतदेखि राष्ट्रपति वा प्रधानमन्त्रीको नामसँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा रोजगार क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिइएको जनाउनुभयो ।
राष्ट्रिय महत्वका र दीर्घकालीन रुपमा प्रभाव पार्ने विगतदेखि सञ्चालनमा रहेका बहुवर्षीय र राष्ट्रिय प्राथमिकताका आयोजनालाई आगामी वर्षमा निरन्तरता दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
टिप्पणीहरू