राजाका निम्ति बैठकमा रडाको

राजाका निम्ति बैठकमा रडाको

पार्टी नेतृत्वको चुनाव हार्दा पूर्वराजा ज्ञानेन्द्रलाई दोष थोपर्दै अलग्गै पार्टी खोलेका कमल थापाले राजसंस्था फर्काउने नीतिमा कठोर देखिए पनि पदाधिकारीहरुको दबावपछि केही लचिलो हुने संकेत दिएका छन् ।

गतहप्ता बसेको कार्यसम्पादन समिति बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जसको बुँदा नम्बर ७ को (छ)मा ‘नेपाल राष्ट्रको एकीकरण, प्रजातन्त्रको स्थापना, राष्ट्रियताको सुदृढीकरण तथा मुलुकको आधुनिकीकरणमा राजसंस्थाको योगदान ऐतिहासिक यथार्थ हो । तर, अहिलेको धरातलीय यथार्थमा राजसंस्था पुनःस्थापना सम्भव छैन । यसबारे पार्टीभित्र निरन्तर बहस भने खुला राखिनेछ ।’ भन्ने भाषा घुसाएका छन् । बैठकमा गणतन्त्र र राजतन्त्र पक्षधर पुरु दाहाल, महेश रोकायलगायतले उनलाई साथ दिए पनि प्रवक्ता बसन्तमान सिंह अधिकारी र सहमहामन्त्री नरप्रताप थापाले भने जमेर राजतन्त्रको वकालत गरेको पाइयो । 

गत मंसिरमा एमालेको चिह्न सूर्य लिएर चुनाव लडेका अध्यक्ष थापा पराजित भएका थिए भने अन्य उम्मेदवार पनि जमानत जोगाउन नसक्ने अवस्थामा पुगे । अर्कोतर्फ जनताले राजेन्द्र लिङ्देनको राप्रपालाई सम्मानजनक मत दिएका थिए । राजतन्त्रको एजेण्डा छाडेर गल्ती भएको महसुस गरेपछि थापाले यससम्बन्धी बहसलाई खुला गर्न बाध्य भएको दाबी स्रोतले गरेको छ । चुनाव हारेपछि रन्थनिएका थापाले अहिले आफूलाई राजसंस्थानिकट देखाउने प्रयास थालेका छन् ।

केहीअघि टेनिस खेल्न दार्जिलिङ जाने बहानामा पूर्व हान्निएका उनी पश्चिम फर्केर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गर्न पुगेका थिए । उनै आदित्यनाथले अघिल्लो हप्ता पूर्व राजा ज्ञानेन्द्रलाई लखनउ बोलाएर सम्मान प्रकट गरेका छन् । 

टिप्पणीहरू