सहकारी पीडितहरु हारगुहार गर्दै सिंहदरबारमा

सहकारी पीडितहरु हारगुहार गर्दै सिंहदरबारमा

राजेशचन्द्र राजभण्डारी

बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका हर्ताकर्ताहरु हजारौं बचतकर्ताको निक्षेप अपचलन गरेर रातारात बेपत्ता भएपछि पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

गृहमन्त्री श्रेष्ठसँग भेटेर इमेज सहकारीको ठगी प्रकरणबारे सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न माग गरिएको छ । उनीहरुले कारवाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनले आलटाल गरेको र सर्वसाधारणको बचतमाथि खेलवाड गरेको गुनासो समेत पोखेका छन् ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुखसमेत रहेका इमेजका अध्यक्ष नेपालीले सहकारीको बचत रकम हिनामिना गरेका हुन् । संस्थामा नगद तरलताको अभाव देखाउँदै हजारौं बचतकर्ताको करोडौं रूपैयाँ हिनामिना गरेर एकाएक बेपत्ता हुँदा पनि प्रहरी प्रशासन मौन भएकोमा स्थानीय आक्रोशित बनेका हुन् । 

भ्रष्टाचार विरूद्व नागरिक अभियानका टोलीले सिंहदरबार पुगेर जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी गराएको जानकारी दिइएको छ । हाल फरार अध्यक्ष नेपालीलाई तत्काल पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेको संयोजक एकबहादुर केसी संगमले बताए ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्रबहादुर बस्नेत र सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेसँगको भेटमा बागलुङको शिवशिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पछिल्लो अवस्थाबारे टोलीले अवगत गराएको हो । करोडौं रूपैयाँ अपचलन गरेर फरार अध्यक्षलाई तत्काल पक्रेर सर्वसाधारणको बचत रकम फिर्ताको पहल गरिनुपर्ने आफ्नो माग रहेको केसीले बताए ।

गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले प्रधानमन्त्रीको कार्यालयले प्रहरीको सिआइबी, सहकारी विभागलगायत सरोकारवाला निकायलाई बागलुङका सहकारी संस्थामा भएको घटनाबारे जानकारी गराउँदै तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जानकारी गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले सहकारी पीडितहरूको उजुरी दर्ता गर्न समेत आनाकानी गरेर ठगी गर्ने सहकारी अध्यक्ष नेपालीलाई भाग्न मार्ग प्रशस्त गरेको गुनासो समेत गृह मन्त्रालयमा जानकारी गराएको टोलीका एक जना सदस्यले बताए ।

टिप्पणीहरू