काठमाडौँ, कालिकोट अनि कोटवाडा

काठमाडौँ, कालिकोट अनि कोटवाडा

कुरो र सन्दर्भ २०७९ चैत १६ देखि २२ गते बीचको हो । प्रेस काउन्सिल नेपालको नियमित कार्यक्रममा कालिकोट र जुम्ला जानुपर्ने भयो । पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रमका लागि चैत्र १६ गते साँझ काठमाडौँबाट हिँडियो । साथमा हुनुहुन्थ्यो, सदस्य दीपक पाण्डे, शाखा अधिकृत विष्णु शर्मा लम्साल र नयाँ चालक दिलिप देवकोटा । साँझ भइसकेकाले रात्रि बसहरू छुटिसकेका थिए । जताततै जामै जाम ! खानीखोलै पार गर्न झण्डै दुई घण्टा लागिहाल्यो । त्यो दिनको लक्ष्य लुम्बिनी, भैरहवासम्म पुग्ने थियो । त्यहाँ ‘राष्ट्रिय मिडिया सम्मेलन’ मा सहभागी हुने निम्तो थियो । ठाउँ–ठाउँमा ‘राष्ट्रिय मिटिङ’ गर्नुपर्ने नेपालको भर्भराउँदो ‘आधुनिक संस्कार’ अनि त्यहीँमाथि दाउन्नेमा बन्दै गरेको सडक÷जामले गर्दा ढिलामाथि झन् ढिला भयो । बिहान पौने २ बजेसम्म कुद्दा कुद्दा बर्दघाटको छेउभन्दा पर पुग्नै सकिएन । त्यहीँ केही घण्टा आँखा झिमिक्क गरेर हिँडियो ।

लुम्बिनी, दाङ, सुर्खेत पुग्दैमा ३ दिन बितिसकेको थियो । मूल गन्तव्य त कहाँ हो कहाँ ? सुर्खेतबाट कपासे फेदी, छेडेबजार, लादे, गोठीकाँडा आदि पार गर्दै जाँदा रानीमत्ताबाट दैलेखले स्वागत ग¥यो । गुराँसे, राकम, तल्लो डुङ्गेश्वरी, टुनी बजार आदि ठाउँ हुँदै तिला नदी पुल तरेर उकालो चढेपछि कालिकोटको सदरमुकाम मान्म पुगिने रहेछ । कार्यक्रमस्थल सदरमुकाम नआउँदै अझै वरबाट जान सकिने भएपनि झन् दुर्गम क्षेत्रमा पर्दोरहेछ । कोटवाडामा त्यही दिन पुग्ने सम्भावना रहेन । सडक कच्ची र रात पनि परिसकेकाले त्यो रात २० गते राष्ट्रिय समाचार समिति, नेपाल पत्रकार महासंघ, न्युनतम पारिश्रमिक निर्धारण समिति र हाम्रो टिम मान्मको सनराइज होटलमा बस्यो । 

नयाँ सालको वैशाख १ गतेदेखि विमान उडाएरै छाड्ने शाहीलगायतको खरो प्रतिबद्धता आए पनि यो आलेख तयार पारूञ्जेलसम्म विमान उडेको छैन, काठमाडौँको जोडबल नपुगेरै हो कि ? 

बिहानै उठेर कोटवाडा प्रस्थान गरियो । कोटवाडामै पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभा पनि रहेछ । सबै पत्रकारको जमघट कोटवाडामा नै भएकाले त्यहाँ कार्यक्रम गर्नुको विकल्प रहेन । महासंघले कालिकोटको नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थल, कोटवाडामा कार्यक्रम राख्नाको विशेष कारण रहेछ । एक, झण्डै ४० वर्षअघिदेिख बन्न सुरू भई हालै निर्माण सम्पन्न विमानस्थलमा अझै विमान उड्न नसकेको बारे आम पत्रकारलाई जानकारी गराउनू । दुई, विमानस्थलमा विमान चलाउन काठमाडौँ र कर्णालीका शासक, प्रशासकहरूको ध्यानाकर्षण गराउँदै दबाब दिनू । अर्को महत्वपूर्ण पक्ष, त्यहाँ विमानस्थल बनाइरहेका ३५ मजदुर जनयुद्धको समयमा (२०५८ साल फागुन ११ गते) सेनाको गोलीबाट मारिएका रहेछन् । सो ठाउँमा हेलिकप्टर राख्न नदिएपछि आक्रोशित सेनाले गोली हान्दा धादिङ जिल्लाको जोगीमाराका सहित ती मजदुरको निधन भएको रहेछ । मजदुर परिवारले अहिलेसम्म न्याय पाएका रहेनछन् । मजदुरहरूको सम्मान भएको रहेनछ । सबै मजदुरहररूको स्मृतिमा स्तम्भ बनाउनुपर्ने आम कालिकोटबासीको माग थियो । तर यसका लागि १० लाख रूपियाँ छुट्याइसकिएको र स्मारक स्थलको शिलान्यास भइसकेको नरहरिनाथ गाउँपालिका अध्यक्ष तथा पूर्वपत्रकार नगेन्द्रबहादुर विष्टको भनाइ छ । 

कालिकोट झन् दुर्गम, भीर र पहाडले घेरिएको जिल्ला रहेछ । काठमाडौँले लामो समयसम्म एकीकृत केन्द्रीय शासन गर्दै आएको र विकेन्द्रीकरणको प्रयास गरे पनि ‘अन्य नेपाल’ लाई झैँ कर्णालीलाई ‘नेपाल’ ठान्न र आफ्नो चित्त बुझाउन नसकेको भन्दै विद्रोही भएको रहेछ कर्णाली (अझ कालिकोट) काठमाडौँसँग । भौगोलिक रूपमा नै विद्रोही कर्णाली–कालिकोट काठमाडौँको लामो समयदेखिको उपेक्षाले झन् विद्रोही बन्यो । काठमाडौँको आँखाले आफूलाई दुर्गम भनेको मनै पर्दोरहेनछ कर्णाली–कालिकोटलाई । त्यसैले त ऊ भन्छ, ‘यो दुर्गम होइन, यताबाट हेर्दा काठमाडौँ चैँ दुर्गम हो ।’

अर्कोतिर काठमाडौँ बसेर संघीयताको विरोध गरेको सुन्दा कर्णाली–कालिकोटलाई हाँसो मात्रै होइन ‘लाटोरिस’ नै उठ्दोरहेछ । अगाडि नै भेटे त यस्ता विरोधीलाई दिऊँ दिऊँ झैँ झोँक चल्दोरहेछ । ऊ थप्छ, त्यतिका जनसङ्घर्ष गरेर संघीयता नल्याएको भए यत्ति विकास पनि हुन्थेन कर्णाली–कालिकोटमा । काठमाडौँमा बसेर संघीयताको विरोध गर्नेहरू एकपटक कर्णाली–कालिकोट घुमेर त हेर, अनि बल्ल आफ्नो धारणा सार्वजनिक गर । कालिकोट र कोटवाडाले तत्काललाई काठमाडौँसँग धेरै आशा गरेका छैनन् । संयोगले विद्रोही नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै मुलुकको प्रधानमन्त्री बनेको बेला, उनीहरूको एउटै चाहना छः– २०७३ साल माघ २९ गतेका दिन तारा एयरको परीक्षण उडान भइसकेको कोटवाडा विमानस्थलमा अब छिट्टै विमान उडाउनैपर्छ । कोटवाडा र मान्मलाई जोड्ने गरी केवलकार बनाउनैपर्छ ।

कोटवाडा विमानस्थल र मान्म जोड्ने गरी केबुलकार बने ५ मीनेटमा आवतजावत गर्न सकिनेरहेछ । जबकि अहिले त्यहाँ जान आउन गाडीमा पनि घण्टौँ लाग्छ । त्यो पनि अति जोखिम मोलेर यात्रा गर्नुपर्छ । यद्यपि, केबुलकार बनाउने विषयमा डिपिआर अध्ययन भइसकेको रहेछ । यस्तै कर्णालीभर स्तरीय सडकहरू बन्नुपर्छ । विभिन्न जिल्लाका सम्भावनाहरूको अध्ययन गरी विकास र समृद्धिको गति अघि बढाइनुपर्छ । यी कुरामा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं वर्तमान संघीय सांसद महेन्द्रबहादुर शाहीले पहल लिने प्रतिबद्धता व्यक्त गरे पनि सतप्रतिशत विश्वस्त छैन कालिकोट । उसको ठम्याइ छ, प्रदेश सरकारको मात्रै जोडबलले केही नलाग्ने भएकाले संघीय सरकारले नै साथसहयोग गर्नैपर्छ । हुन पनि हो, २२ गतेको सोही कार्यक्रममा नयाँ सालको वैशाख १ गतेदेखि विमान उडाएरै छाड्ने शाहीलगायतको खरो प्रतिबद्धता आए पनि यो आलेख तयार पारूञ्जेलसम्म विमान उडेको छैन, काठमाडौँको जोडबल नपुगेरै हो कि ? 

हो, अहिले यति मात्रै भए पनि कालिकोट, कोटवाडाको पहिलो खुशी यही नै हुनेरहेछ । किनकि निर्माण सम्पन्न भइसकेको सो विमानस्थल चालु भएमा कालिकोटका नरहरिनाथसहित रास्कोट, पलाता, खाँडाचक्र, सान्नीत्रिवेणी, पचालझरना र अछाम जिल्लाको रामारोशन, त्रिवेणी पाटन, बडिमालिकाका बासिन्दालाई आवतजावतमा सहज हुनेछ । पर्यटकीयलगायत विभिन्न क्षेत्रको विकासमा टेवा पुग्ने छ । यतिमात्रै होइन, ऐतिहासिक व्यक्तित्व योगी नरहरिनाथको ज्ञान, दर्शनबारे विश्वमा प्रचारप्रसार गरी उहाँको घर र जन्मस्थललाई म्युजियम बनाएर पर्यटक ल्याउन सकिएमा त्यहाँको अर्थतन्त्रले फड्को मार्न सक्नेछ । कर्णाली नदीको पानीमा ‘सेतो डलर’ फलाएर सिंगो कर्णालीकै मुहार फेर्ने विविध सम्भावना त कति छन् कति !
 

टिप्पणीहरू