धादिङबेसीमा ‘मान्छे मार्न पाईंदैन’ भन्ने नारा घन्क्याे

धादिङबेसीमा ‘मान्छे मार्न पाईंदैन’ भन्ने नारा घन्क्याे

-शंकर श्रेष्ठ

धादिङको सदरमुकाम धादिङबेसीमा नाराबाजी भएको छ । होटलमा खाजा खान गएका धादिङको गल्छी गाउँपालिका ८, गल्छीका विनोद थापा मगरको हत्यामा संलग्नहरुलाई आजीवन जेल सजायको माग गर्दै आज नाराबाजी भएको बताइएको छ ।

गल्छीकै शानदार होटलमा खाजा खान गएको समयमा क्रुर हत्या भएको र हत्यारालाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले धादिङबेशीमा प्रदर्शन गरेका हुन् । हत्याराहरुको अवैध सम्पत्तिको छानबिन गर्न समेत माग गरिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी–८ बस्दै आएका ३० वर्षिय किरण राना पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि अनुसन्धान जारी छ ।

नेपाल मगर संघको अगुवाइमा भएको प्रदर्शनपछि उनीहरुले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । अनुसन्धानको क्रममा पीडकहरुले प्रहरी प्रशासन र अदालत समेत आफ्नो पक्षमा पार्न सक्ने आशंका बढेकाले दबाबस्वरुप प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको वडाध्यक्ष विशाल लुङ्गेली मगरले बताए ।

 

उनीहरुले ‘मान्छै मार्न पाइदैन, आजीवन कारावासको सजाय गर, कानूनी राज्यको प्रत्याभूति गर’ लगायत प्लेकार्डसहित नाराजुलुस गरेका हुन् । शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी विनोदको वैशाख २८ गते राति विभत्स हत्या भएको थियो । 

पीडितका आफन्तहरुले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल सञ्चालक पण्डित, उनका छोरा निरजमाथि मानव बेचविखन तथा ओसारपसार र होटलमा देहव्यापार गराएको अभियोगमा मुद्दा दर्ता गराएका छन् ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले घटनाबारे आफूले नजिकबाट बुझिरहेको बताउँदै उक्त हत्यामा संलग्नहरुलाई कानुनअनुसार कडा कार्वाही हुनेमा विश्वस्त रहन पीडितका परिवार र आफन्तहरुलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू