वडाध्यक्षले दिउँसै स्थानीय भकुरे, उपचारका लागि पुलिसमा हारगुहार

वडाध्यक्षले दिउँसै स्थानीय भकुरे, उपचारका लागि पुलिसमा हारगुहार

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश राउतमाथि स्थानीयलाई कुटपिट गरेका आरोप लागेको छ । सोही वडाको लाटु बस्ने ४३ वर्षीय राजकुमार थामीले आफू वडाध्यक्षबाट अकारण कुटिएको बताएका हुन् । 

गत जेठ ११ गते बेलुका ८ बजे आफ्नो फर्म र अनुदानका विषयमा सामान्य वादविवाद हुँदा वडाध्यक्ष राउतले आफूमाथि हातपात गरेको थामीको गुनासो छ । राउतविरुद्ध उनले पिस्कर प्रहरी चौकीमा उजुरीसमेत हालेका छन् । 

उजुरीमा आफ्नो जिऊज्यानको सुरक्षासहित घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । वडाध्यक्षजस्तो गरिमामय पदमा बसेको व्यक्तिबाट भएको यस्तो गतिविधिले आम नागरिकको आडभरोसा गुमेको थामीले दुखेसो पोखे । 

‘सामान्य वादविवाद भइरहँदा बिनाकारण ममाथि हातपात तथा कुटपिट भएको हुँदा वडाध्यक्षजस्तो गरिमामय पदमा रहनुभएका व्यक्तिबाट यस्ता गतिविधि हुनुमा हामीजस्ता जनताहरुको आडभरोसा गुम्न पुगेको छ’, उनले भने । त्यस्तै, उनले क्षतिपूर्ति दावी गर्दै आफ्नो स्वास्थ्य उपचारको व्यवस्था मिलाइदिन पनि आग्रह गरेका छन् । 

वडाध्यक्ष राउतले स्थानीय कुटेको घटनाको चर्को विरोध भइरहेको छ । लाटुका स्थानीयले राउतलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । ‘सत्ता र शक्तिको आडमा सर्वसाधारणलाई कुटपिट गर्ने वडाध्यक्षलाई कारबाही हुनुपर्छ । न्याय माग्दै थामी प्रहरी कार्यालय पुगेका छन् । प्रहरीले कार्यालयले के गर्छ, हेँर्दै जाऔं’, एक स्थानीयले भने ।

टिप्पणीहरू