ठाडीबाट करोडौंको तस्करी, अवैध ओसारपसार रोकिएको सुरक्षा निकायको दाबी !
सिरहाको दक्षिण सीमावर्ती ठाडी नाकाबाट दैनिक करोडौं रुपैयाँ बराबरको सामान अवैध रुपमा नेपाल भित्रिने गरेको रहस्योद्घाटन भएको छ । सिरहाको प्रहरी प्रशासनले तस्करी रोक्न आफूहरु सफल भएको दाबी गर्दै आएको अवस्थामा यसरी उपभोग्य सामग्री अवैध रुपमा भारतबाट नेपाल भित्रिने गरेको खुलेको हो ।
जिल्ला उद्योग वाणिज्य संघ, सिरहाले दैनिक दुई करोड रूपैयाँ बराबरको सामान उक्त नाकाबाट चोरीनिकासी हुँदै आएको निष्कर्षसहितको ज्ञापनपत्र बुझाएर जिल्ला प्रशासन कार्यालय, सिरहाको ध्यानाकर्षण गराएको छ ।
दिनदहाडै भइरहेको तस्करीले लहान बजारका व्यापारीहरु सबैभन्दा धेरै प्रभावित भएको संघका अध्यक्ष विकास शारदाले बताए । दैनिक उपभोग्य सामान बिनाभन्सार नेपाल भित्रिँदा ठूलो परिमाणमा राजस्व गुमेको उनको भनाइ छ ।
‘ठाडी नाकाबाट हुँदै आएको चोरी तस्करीले लहान बजारका व्यापारीहरू प्रभावित भएका छन् । भोजभतेर, विवाह, पूजाको नाममा बिनाभन्सार सामान भित्रिरहेका छन् । यसले व्यापारी मात्र होइन् राज्य पनि मारमा परेको छ । ठूलो मात्रामा राजस्व गुमिरहेको छ । हामी केही दिनमै सिडियोलाई ज्ञापनपत्र बुझाउने तरखरमा छौं । त्यसपछि नाकामै धर्ना बस्छौं’, उनले भने ।
त्यस्तै, लाखौंको लत्ताकपडा र जुत्ताचप्पल पनि सोही नाकाबाट अवैध रूपमा भित्रिने गरेको उनले जानकारी दिए ।
शंकाको घेरामा सशस्त्रका डिएसपी
सीमामा भन्सार बढेको निष्कर्षसहित सशस्त्र प्रहरी बलले माडर र ठाडीमा स्थायी भन्सार गण राख्ने प्रस्ताव गरेको थियो । अहिले ती दुवै स्थानमा प्रस्तावित गणको स्थापना गरिएको छ ।
सशस्त्रको प्रस्तावित ठाडी भन्सार गणका इञ्चार्ज हुन्, सशस्त्र प्रहरीका डिएसपी दीपेन्द्र थापा । जिल्ला उद्योग वाणिज्य संघले नाकामा बढेको चोरी निकासीको दाबीसँगै डिएसपी थापा विवादमा तानिएका हुन् ।
उक्त नाकाबाट सामानहरु अवैध रुपमा नेपाल भित्रिने कार्यमा उनले आँखा चिम्लिदिएको अधिकांशको आरोप छ । हालै सरूवा भएर आएका उनको प्रत्यक्ष संलग्नतामा अवैध चोरी निकासी मौलाएको भन्ने स्थानीय व्यापारीहरु धेरै छन् ।
यता, थापाले ‘भगवानको कसम खाँदै’ तस्करीमा आफ्नो मिलोमतो नरहेको दाबी गर्दै आएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पनि आफू सरुवा भएर आउनेबित्तिकै भनेका थिए, ‘यहाँ व्यापक चोरीपैठारी रहेछ । यसलाई शुन्य बनाइने छ ।’ हालको अवस्था त्योभन्दा ठ्याक्कै उल्टो भएको बताइन्छ । चोरीपैठारी घट्नुको साटो धेरै गुणाले बढिरहेकोमा सबैको चिन्ता छ ।
टिप्पणीहरू