‘सतीले सरापेको देश’ भाषामा धनी हुँदै
– श्याम रिमाल
संसद् कहिले ‘आमनागरिक’ कि ‘सर्वसाधारण’ मा केन्द्रित हुन्छ त कहिले ‘चेलाचेली’ । कहिले ड्रेस कोडमा अल्झिन्छ त कहिले हाजिर गरेर भाग्नेलाई कस्ने उपायमा । आफूलाई ‘मान्य’, ‘माननीय’ भनाइरहनुपर्ने अरे । चाहिँ ‘प्रदेश नं १’ बल्ल बल्ल ‘कोशी’ मा पुग्यो तर पहिचानवादीको आक्रोशले अहिले सो क्षेत्र नै आतङ्कित छ । मूलतः ‘किरात प्रदेश’ तिनको माग छ जबकि ‘कोशी प्रदेश’ मान्ने प्रदेशसभा सदस्यलाई जनताले बहुमतमा पु¥याइदिएका छन् ।
प्रतिनिधिसभामा अहिले नयाँ शब्द घुसेको छ–‘जनयुद्ध’ । मान्छे संलग्न भएको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने भनी माओवादीका सांसदले प्रश्न गरेका छन् भने अमानवीय हत्याहिंसा गरिएको समय कदापि ‘जनयुद्ध’ हुन नसक्ने जिकिर नेकपा (एमाले) को छ । त्यसमा नेपाली कांग्रेस पनि मिसिएको छ । के यसलाई ‘बैगुनी कमरेडले बालाई खुशी पार्न आफ्नो निष्ठा बन्धकी राखेको’ मात्र हो भनेर माओवादी पन्छन पाउला र ? ‘जनयुद्ध’ शब्द नै कहिले झिक्ने, कहिले राख्ने गर्दा नेपाली जनताले के भनेर बुझ्ने ? ‘सर्प देखे बाहिर हात, माछा देखे दुलामा हात’ ? खासमा राज्यनियन्त्रित सञ्चारमाध्यम र माओवादी विरोधी मिडियाले त्यसलाई ‘सशस्त्र द्वन्द्व’ लेख्थे, भन्थे भने माओवादी समर्थित ‘जनयुद्ध’ । भन्न त कसैले ‘धनयुद्ध’ पनि भने किनकि तिनका सक्कली–नक्कली कार्यकर्ताले चन्दा आतङ्क र धनीमानी वा हुनेखाने भनिएकाहरूको जग्गाजमिन, सुनचाँदी, गरगहना आफ्नो कब्जामा लिएकै थिए, घरजग्गामा आफ्नो पार्टीको झण्डा पनि गाडेका थिए ।
विसं २०६२ । ०६३ को माओवादी–सात राजनीतिक दलका नेतृत्वमा जनताले ल्याएको लोकतन्त्रकालमा ‘नयाँ नेपाल’ भन्ने पनि खुब चल्यो । सोही काल हडताल, आमहडताल, चक्का जाम, धर्ना, जुलुस कति चले चले । त्यसैलाई पो ‘नयाँ नेपाल’ भनिएको रेछ भनी अचाक्ली व्यङ्ग्य पनि गरियो । आखिर नेपालपछि ‘नयाँ नेपाल’ ल्याउने माओवादी पो भन्ठानेको त हैन पो रैछ । नेपालीहरूले लोकतन्त्र–गणतन्त्र ल्याउन ‘एक जुगमा एक दिन एक चोटि ल्याउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ भन्दै खुब कुर्लिए तर उनै क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि ‘गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा’ पढेर पनि पुरानाले बिर्सिसकेका रैछन् अथवा नयाँले यसप्रति ध्यानै दिएका रैनछन् । उनले आफ्ना ‘आमाको सपना’ (साझा प्रकाशन, २०१९) काव्यसङ्ग्रहभित्रको ‘गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा’ मै लेखिसकेका रहेछन्–
‘हाम्रो छाती कत्रो ? हिमाल जत्रो
हाम्रो बारीको नाउँ के ? नेपाल
हाम्रो गाउँको नाउँ के ? नयाँ नेपाल’
बीचमा अनेकौँ नयाँ नयाँ अनौठा शब्द पढिसकिएका, लेखिसकिएका थिए । कति सम्झिइन्छन्, कति सम्झिइन्नन् । हरेक नयाँ सरकारपिच्छे नयाँ नयाँ शब्द सुन्दै पढ्दै गर्दा ‘नक्कली भुटानी शरणार्थी’ शब्दले मुलुक मात्र नभई विश्व नै पो हल्लायो– संयुक्त राष्ट्र सङ्घ, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अस्ट्रेलियादिसम्म । नेपालमा भुटानीलाई पानीट्यांकीबाट मेचीपारि ट्रकमा राखेर जबर्जस्ती धकेल्ने ‘हिन्दुस्तान’ र उनैले पालेपोसेको ‘चट्याङको देश’ले थाहा नपाउने कुरै भएन । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला नेपाल सरकारका सचिवसम्म तानिएको सो प्रकरणमा बिर्सिसकिएकी पम्फादेवीसम्मलाई लतारेर पो ल्यायो मिडिया, सोसल मिडियाले । भुटानी अधिकारवादी नेता भनिएका टेकनाथ रिजाल पनि फेरि हाम्रो यस प्रकरणमा तानिएको देख्दा कम्ती दुःख लागेन । सोह्रौँ पटकसम्मको वार्तामा भागेको शरणार्थी उत्पादक देशसँग केही नलागेर तत्कालीन परराष्ट्रमन्त्री केपी शर्मा ओलीले नै तिनलाई तेस्रोे देश पुनःस्थापना गर्न भूमिका खेलेका रहेछन् ।
वर्तमान राष्ट्रपति स्वयंलाई पनि अघिल्लाभन्दा फरक देखाउनु छ । उनलाई त ‘सवारी’ शब्द नै मन परेको छैन । रानुदेवीलाई भने ‘सवारी मेरो रेलैमा’ मन पथ्र्याे । राजामहाराज, राणा, बाबुसाहेब, काजीसाहेबका परिवार त ‘सवारी’का हकदार भइहाले । धन्न यसपाला राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा राजाकालीन ‘मेरो सरकार’ भन्ने चाहिँ उच्चारण गरेनन् ।
पहिले पहिले कम्युनिस्ट पार्टी र तिनका नेताहरू एकार्कालाई ‘कांग्रेसको पुच्छर’ भन्थे, ‘सिआइडी’ को संज्ञा दिन्थे, ‘गद्दार’ सम्मको आरोप लगाउँथे । यसपाला त एमालेका सांसदले कांग्रेसका युवा नेताहरूलाई पो ‘प्रचण्डको पुच्छर’ भनी संज्ञा दिए । तर के गर्नू, सांसद दयालबहादुर शाही आफूले बोलेको कुरा संसदीय रेकर्डबाट हटाइनेमा परिहाले । ‘पशुपतिनाथले जोगाएको देश’, ‘सतीले सरापेको देश’ मा अझ के के नयाँ शब्द शब्दावली प्रादुर्भाव हुँदै जान्छन्, हेर्दै, पढ्दै जानु छ । जे होस्, शब्दभण्डार वृद्धिले हाम्रो भाषा धनी हुँदै छ जो विकृत भएर पनि दिनदिनै उँचो भइरहेको छ ।
टिप्पणीहरू