नागरिकतामा जस नपाएपछि एमाले छट्पटायो : चित्रबहादुर केसी

नागरिकतामा जस नपाएपछि एमाले छट्पटायो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणको जस लिन नपाएर विरोध गरेको टिप्पणी गर्नुभएको छ । 

महन्थ ठाकुरहरुलाई खुशी तुल्याएर आफ्नो सरकार जोगाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता अध्यादेश ल्याएको सन्दर्भ जोड्दै केसीले अहिले विधेयकमा जस लिन नपाउँदा एमालेलाई छटपटी भइरहेको बताउनुभयो । विगतमा ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको पनि उहाँको भनाई छ । 

पुराना वामपन्थी नेता केसीले भारतले आफ्ना नागरिकलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्याउन खोजेको पनि आशंका गर्नुभएको छ । नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको भारतले त्यसको आधारका लागि यहाँ चलखेल गरिरहेको उहाँको आरोप छ ।

अंगिकृतबाट जन्मिएकालाई वंशजको नागरिकता दिनै नमिल्ने केसीले तर्क गर्नुभयो । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उहाँ दाबी गर्नुहुन्छ । 

‘भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर । एकातिर भूगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भुटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसी भन्नुहुन्छ । 

नेपाललाई हिन्दूराज्य बनाउने मात्रै बनाउने नभई ‘अखण्ड भारत’ मा समेत सामेल गराउने तयारीमा भारत रहेको नेता केसीले ठोकुवा गर्नुभयो ।

अगाडि भन्नुभयो, ‘भारतले भूमि मिचेको र ईपीजी प्रतिवेदनबारे प्रश्न नै नउठेको भन्दै उहाँले नेपालका शासकहरुलाई बिरालोले मुसो खेलाएझैं खेलाएको छ ।’

टिप्पणीहरू