२४ वर्षे यात्रा भेनिसदेखि बेइजिङसम्मको

२४ वर्षे यात्रा भेनिसदेखि बेइजिङसम्मको

इतिहास पढ्दै जाँदा प्रताप मल्ल र पृथ्वीनारायण शाह हिजोका हुन्, अकबर र चंगेज खाँहरू अस्तिका हुन् र अलेक्ज्याण्डर तथा बैजेण्टाइनहरू झन् अस्तिका मात्रै हुन् जस्तो लाग्न थाल्छ । हैन भने आफ्नै मातापिता मध्यकालीन र हजुरबुबा, हजुरआमा प्राचीन इतिहास हुन्जस्तो बन्न पुग्छ ।

मलाई बुझ्नेहरू मार्को पोलो भन्छन् । सन् १२५४ मा जन्में । सडकबाट सिधा जाँदा करिब १० हजार र हवाई मार्ग नै करिब आठ हजार किमि टाढा रहेको इटालीको भेनिसदेखि चीनको बेइजिङ पैदल जान सम्भव होला त करिब ७५३ वर्षअघि ? तर म त्यो मार्ग हिँडें, कैयौं स्थानमा वर्ष दिनसम्म बस्दै, युद्ध, हिमपात, बाढी, डकैती सबै झेलेर क्याथे (चीन) पुगें । युआन बंशका वादशाह कुब्लाई खाँलाई भेटें । त्यही बेला हो नेपालबाट अरनिको पनि गएको तर उनी कहिल्यै फर्केनन् । मलाई भने २४ वर्ष लाग्यो । सन् १२५४ मा इटालीको भेनिसमा जन्मेको मेरो पिता निकोलो पोलो र काका माफेयो पोलो कन्सटाण्टिनेपोल (इस्तानबुल), सुदाक हुँदै तिग्रिस, बुखारा भएर रेशम मार्गको बाटो युआन साम्राज्यको दरबारमा कुब्लाई खाँलाई भेटेर ९ वर्षमा फर्कन सफल भैसकेका थिए । 

पोपको निधन भएको बेला भएकाले केही समय प्रतीक्षा गरेँ, आफ्नाे हुँदै जेरुसलेम आएँ । जिससको लागि बालिएको दियोबाट पवित्र तेल कुब्लाई खाँको दरबारमा लैजानको उपहारस्वरूप लिएँ । पुनः फर्किएर नयाँ पोपको आशीर्वाद ग्रहण गरेँ । बाटोका लागि सुविधा र पत्र पनि पाएँ । 

सन् १२७१ मा बाबु निकोलो र काका माफेओले मलाई पनि लिएर लामो यात्रामा निस्के । टर्की र अयास (आर्मेनियाको समुद्री शहर) भएर ग्रेटर आर्मेनिया पार गरियो, ककेसस हुँदै इरजुरुम अनि इरानको दक्षिण पूर्व भएर ताब्रिज (इराक), याज्द, ( इरान) र केरमान (इरान) को बाटो समुद्री तट अर्थात् पर्सियन गल्फको शहर होरमुज पुगियो । त्यता घुमी पुनः उत्तरको केरमान आएर, बल्ल पूर्वतर्फ सोझियौं । पर्सिया (इरान) कै कामादिन, कुभनान, तुन काइन आइयो । अलेक्जाण्डर र दायियसको बीचमा लडाइँ भएको स्थान रहेछ । मुलेहेत पुगियो । अलाउद्धिन भन्ने निरंकुश पिपासुको स्थान जसलाई १२६२ मा मंगोलहरूले आक्रमण गरी मारेपछि त्यो राज्य शान्त बनेको पाइयो ।

सेरबघान, बल्ख आयो । सबैतिर मंगोलियन अर्थात् तातारहरूले ध्वस्त पारेका, उनीहरूकै कब्जा भएको । लडाइँ त कति हो कति । चँगेज खाँले बुखारा, समरकन्द कब्जा गरिसकेका थिए । सन् १२५५ मा तातारहरूले ठूलो सेना ल्याएर पर्सियाका खालिफालाई समेत कब्जामा लिएपछि पनि विभिन्न स्थानमा आक्रमण रोकिएको थिएन । सायद विश्वमै सबैभन्दा धेरै सैनिक तथा नागरिकको मृत्यु मंगोलहरूको साम्राज्य विस्तारकै क्रममा भएजस्तो लाग्यो ।

हाम्रो बाटोमा तालेकान, इसकासिम हुँदै बदाखसान आइपुग्यो । त्यसपछि पसाई (पूर्वी अफगानिस्तान) आइयो । त्यताबाट पूर्व सात दिन गएमा काश्मिर आउने । बदाखसानबाट १२ दिनमा बाखान आयो । अब हिमाली श्रृंखला पार गर्नु पर्ने भयो । पामिरको क्षेत्र पार गर्न हप्तौं लाग्यो । त्यसपछि गिलगिट बाल्टिस्तानको बोलोर आइपुगियो । अब कठिन हिमाली क्षेत्र पार गरेपछि तारिम बेसिनअन्तर्गत कासगार आयो । जुन ग्रेट खाँको राज्यअन्तर्गत पथ्र्याे । केही क्रिश्चियन र धेरै मुस्लिम बसोबास गर्ने क्षेत्र कासगार, अहिले चीनको पश्चिम सिन्जियाँङको शहर, ब्रिटिशको पालामा कन्सुल अफिस भएको र लेह लद्याखदेखि ब्यापारिक कार्यको लागि प्रख्यात स्थान । अब हामी, कासगारबाट ताकलमकान मरुभूमि हुँदै पूर्व लागियो मरुभूमिको बाटो । 

कासगारदेखि पाँच दिनको हिँडाइमा यारकान्द आयो, पुस्तौंसम्म भारतीयहरूको लेह लद्याखको बाटो भएर निस्कने पहिलो स्थान र रोटीबेटीको सम्बन्ध भएको ऐतिहासिक गन्तब्य । आठ दिनमा खोटान आयो । सवै मंगोलकै साम्राज्यअन्तर्गत । किनकि त्यो बेला चीनको धेरै भूभागमा कुब्लाई खाँको साम्राज्य कायम भई, युआन वंशको रूपमा शासन गरेका थिए । अब आयो पेम (केरिया) । 

ताकलामकान मरुभूमिकै पूर्वी भेगको गाउँ, चेर्चेन (छिमो) । सेनाहरूले खानेकुरा, सामान उठाएर लगिदिने भएकोले पहराहरूमा लुकाएर राख्दा रहेछन् । अब गोवी मरुभूमि शुरु भयो, लुप आयो । लगातार मरुभूमिको ३० दिनको हिंडाइपछि साजाउ अर्थात् दुनहाङ आयो, हामी हिँडेभन्दा उत्तरतर्फ गोवीको रेशम मार्ग भेटियो, बा र काकाहरू पहिला आउँदा त्यही मार्ग पछ्याएका रहेछन् । तर हामी आउने बेला मंगोलहरूकै बीचमा गृहयुद्ध भई, भिषण लडाइँ चलिरहेको कारण यो बाटो आयौं । यो ताङगुत राज्य अर्थात् सिया सिया थियो १२२७ मा चँगेज खाँले ध्वस्त पारेको । गान्जाउ पुग्यौं, अहिले झाङगे भनिने ठाउँ जुन गान्सु प्रान्तमा पर्छ । क्रिश्चियन, मुस्लिम र बुद्धिष्टहरू रहने । त्यताबाट ६ दिन हिँडेर उत्तरी इजिना शहर पुगियो । गाईवस्तु, उँट प्रशस्त हुने ठाउँ । त्यहाँ ओङ खाँको बारेमा सुन्यौं जसलाई क्रिश्चियन भएकोले प्रेस्टर जोन भनिने रहेछ । शक्तिशाली मंगोल भए पनि शक्ति संघर्षमा चँगेज खाँको लडाइँमा मारिएका थिए उनी । 

मंगोल साम्राज्यमा चँगेज खाँपछि ओगुदे, गायकू, अल्तुन, मेन्गु र कुब्लाई खाँलाई ग्रेट खाँ भन्ने गरिएको पाइयो । राजाहरू वा नजिकका मारिँदा अर्को लोकमासाथमा हुन्छन् भन्ने अन्धविश्वास रहेकोले सेना, घोंडासमेत मारिने परम्परा रहेछ । यस्तै मेन्गु खाँ मारिंदा उनको साथमा २० हजार मानिस मारिएका रहेछन् । 

विस्तारै पूर्वतर्फ बढ्दा गान्जाउबाट इरगुइल (उवेइ, गान्सु) आउने । हाल इनर मंगोलियाको सीमा त्यसपछि छिझाउ (लिन्ताओ), इग्रीगइया (निङसिया) हुँदै छुआनहुवा हेवेइ प्रान्त पुगिने । मेरा बुबा, काका र म, कुब्लाई खाँको ग्रिष्मकालीन राजधानी छनादू पुगियो करिब करिब ४ वर्षको हिँडाइपश्चात् । बादशाह जुन, जुलाई र अगष्टसम्म उक्त राजधानीमा बस्ने रहेछन् बेईजिंगमा गर्मी हुने भएकोले । पोपले दिएको पत्र र जेरुसलेमको पवित्र तेल टक्र्यायौं, ज्यादै खुशी भए । 

उनी १२५६ मा बादशाह भएका चँगेज खाँका नाति, आमा क्रिश्चियन, सोरघाक्तानि बेकीको बुद्धिमत्ताले विशाल युआन मात्र नभै मंगोल साम्राज्यका बादशाह बन्न सफल भएका । त्यहाँ निकोलो र माफेओले बादशाहसँग क्रिश्चियन धर्मको बारेमा कुरा गरे । उनको १२ जना बारोन (मन्त्री) हुने रहेछन् । तिनीहरूले सरकार, फौज, प्रशासनलगायत सबै हेर्ने । चारवटा रानीहरू प्रत्येकका तीन सय सुसारे रहेछन् । नोकरहरू त हजारको संख्यामा । चार रानीबाट २२ जना छोरा जन्मेका र जेठो छोरा जेङगिस खासमा उत्तराधिकारी रहेछन् तर उनी बीचमै बितेकाले उनको छोरा अर्थात् बादशाहको नाति तिमुर साम्राज्यको उत्तराधिकारी हुने भएको पाइयो । 

डिसेम्बर, जनवरी र फेब्रुअरीमा कुब्लाई खाँ बेइजिङस्थित खानवालिकमा बसेर राज गर्ने । त्यहाँको दरवारमा ६००० जनाले एकै साथ खानसक्ने हल रहेछ । दाइदुमा ठूलो शहर र दरबार थियो । खाँका सेरेमोनियल गार्डमा १२ हजार घोंडसवार फौज रहेछन् । जसमा ४ क्याप्टेन र प्रत्येकसँग ३ हजार फौज रहने र तिनैले पालैपालो दरबारको सुरक्षा गर्ने । २८ सेप्टेम्बरमा कुब्लाईको जन्मदिन भव्य हुने । ४० हजारले एकै साथ भोज खाने । विभिन्न राज्यबाट उपहारहरू आउने । फेब्रुअरीमा पर्ने नयाँ वर्षमा १ लाख सेतो घोडा कुब्लाईलाई चढाउने, ५ हजार हात्तीको सवार हुने । सबैले हाम्रो मालिकलाई रक्षा गर भनेर प्रार्थना गर्ने । 

कागजको पैसाको चलन गरेकाले सबैतिर लागू भई व्यापार विनिमयमा सहजता भएको । आफ्नो अधिनमा रहेका चीनका राज्यहरूमा खबरहरू आदानप्रदान गर्न घोडसवारहरू तयार रहने । २५ किमिमा घोंडा बदली गर्ने र प्रत्येक पोष्टमा ३/४ सय घोडाहरू तयारी अवस्थामा राखिने । खबरका लागि मात्रै २० हजार घोडा तयारी अवस्थामा । कुनै पनि स्थानको खबर १० दिनमा पाइने । अन्न भण्डार ठूलो भएकाले दैनिक ३० हजारलाई वितरण गरिने । 

राजदरबार खानबालिकमा ५ हजार ज्योतिषी रहने, तिनले मुस्लिम, क्रिश्चियन, मुसलमान र चिनियाँ सबै कुराको भविष्यबाणी गर्ने । मलाई बादशाह कुब्लाइले बुद्धिमान सम्झेर सेवामा लगाउने विचार गरे । म, कता हो कता इटालीको मान्छे, मंगोलको दरबारमा जागिरेजस्तो बनें । मलाई त कराजाँङको दूत बनाएर पठाउने भए । यस्तैमा चीनको पश्चिम दक्षिणतिर हालखबर बुझ्न पठाए । ४ महिना लाग्यो । १० माइलमा पुलीसँघिम आयो । अहिले त्यो मार्कोपोलो ब्रिजको रूपमा रहेको छ । ३० माइलमा झोझोउ आयो हेवेइ प्रान्तको । मानिसहरू बुद्ध धर्म मान्ने । त्यसपछि जेन्दिङ पुगें । नाइयान्फु आएँ, अहिलेको ताइयुआन हो साङसी प्रान्तको । अति सुन्दर स्थान रहेछ, अंगुर धेरै भएकोले वाइन प्रशस्त पाइने । त्यसपछि पिङयान्फू (लिनफेन) आयो । धेरै सिल्क उत्पादन हुने । छिझाउ आयो । अनि पुगें हेझोङफू (पुझोउ) । लामो हिंडाइपछि ८ दिनमा चाङआन्फू ( सियान) पुगियो । पहिला राजाको राजधानी तर अहिले सबै मंगोल खाँको । कुब्लाईले त्यहाँको राजाको छोरा मंगलालाई राजा बनाएका । 

मंगला दरवारबाट ३ दिनमा ग्वाङगवान आयो । अदुवा, धान धेरै हुने । अन्यत्र निर्यात गर्ने । २० दिनमा चेङदफू पुगियो । अहिले सिचुवानको राजधानी छेङदू । पहिला ठूलो राजा भएका उनले ३ छोरालाई राज्य बाँडिदिएका नेपालमा यक्ष मल्लले जस्तै । त्यहाँ ठूलो नदी भएकोले जहाजहरू चल्ने । नदी हुँदै पूर्वतर्फ लागेपछि ८० देखि १०० दिनको यात्रापश्चात् समुन्द्रमा पुगिने । सबै जनता बुद्धिष्ट । त्यताबाट ५ दिनमा तिब्बत पुगिने । कराजांग पार गरेपछि युन्नान प्रान्तको क्षेत्र आयो । बादशाहका नाति यिसुन टिमुरले त्यहाँको राजा भएर काम गरेका । त्यसपछि युन्नानको कुनमिङ आयो । खेतीपाती धेरै हुने, नून निर्यात गरेर आम्दानी गर्ने । कुनमिंगमा दियानचि ताल रहेछ । त्यहाँबाट दश दिनमा उत्तर पश्चिम दाली शहर पुगिने । जुन कराजाँग राज्य हो मंगोलले १२५३ मा कब्जा गरेको । कुब्लाईको पाँचौं छोरा राजा भएका । यहाँ ठुल्ठूला अजिंगर हुने रहेछ जंगलमा, जुन औषधी बनाउन मारिने । घोडा उन्नत जातका हुने र भारतमा निर्यात हुने । यहाँका मानिसहरू विष लिएर हिँड्दा रहेछन् । कुनै पनि पाहुना या नौलो मानिस आए राति विष खुवाएर मार्ने, जुन कुप्रथा कुब्लाईले बन्द गराइदिएछन् । 

अब जरदानदान प्रान्त पुगिने, राजधानी योङचाङ अहिलेको बाओसान युन्नानको । छोरामान्छेले अगाडिको दाँत सुनको राख्ने चलन रहेछ । घरको काम छोरीमान्छेले गर्ने, छोरामान्छे प्रायः लडाइँमा जाने । त्यतातिर उपचारको लागि धामी झाँक्रीको मात्र भर पर्ने चलन । धामी ड्रम लिएर उफ्रने, भेंडाको भोग दिने, मासु, रक्सी चढाउने । १२७२ मा कुब्लाईले योङचाङ र बंगाल बर्माका राजाले कोराजाङमा मंगोलउपर आक्रमणको लागि सेना तयारी गरेछन् । मंगोलका नसरिद्दीन नामक साहसी सेनापतिले बंगाल र बर्माको सेनालाई हराएका रहेछन् हामी आउनुअघि । धेरैलाई मारेर हात्तीहरू जफत गरेका रहेछन् । 

त्यहाँबाट जंगलै जंगल १५ दिनमा पगान (बगान) आउने, हाल बर्माको । १२८७ मा मंगोलले लिएका । सबै बुद्धिष्ट । त्यहाँबाट भारतको बंगाल आउने तर कुब्लाईले त्यो भने लिएका रहेनछन् । आठ दिनमा तुलामान पुगियो युन्नानकै । त्यहाँका मानिस जन्मजात सिपाही हुने । बिस्तारै म, दाइदु (बेइजिङ) तर्फ फर्किएँ । विभिन्न राज्यहरूमा पाएको हालखबर बादशाहलाई जानकारी गराएँ । खुशी भए । फसाद त के भने फर्कन नपाइने भयो । कति हो कति वर्ष यसैगरी बित्दै गए ।
 

टिप्पणीहरू