मिडियाले जसलाई ‘नेता’ नै मान्दैन

मिडियाले  जसलाई ‘नेता’ नै मान्दैन

सञ्चारकर्ममा रहँदा रवि लामिछानेले आफूलाई पत्रकार मानेनन् । आफ्नो सञ्चारकर्मलाई पत्रकारिता पनि ठानेनन् । आफ्नै मनको आवेगात्मक त्यो कर्मलाई उनको विवेकले पत्रकार/पत्रकारिता मान्न/ठान्न सकेन । नागरिकले उनलाई पत्रकार र र उनको कर्मलाई पत्रकारिता माने पनि त्यो कर्म खास ‘पत्रकारिता’ थिएन । बरु उनको त्यो शैलीले पत्रकारको आवरणमा टेलिभिजनका पर्दाबाट घोक्रो सुक्नेगरी चिच्याउने प्रवृत्ति (कथित पत्रकारिता)लाई झनै बढावा दिएको थियो ।

रविले आफूलाई पत्रकार नमाने पनि पत्रकारिताबाट ‘एजेण्डा सेटिङ’ गर्न सकिने कुराचाहिँ बुझेका थिए, बुझेका छन् । त्यही भएर आफूमाथि हुने सम्भावित ‘हमला’हरूका विषयमा आफूनिकट केही अनलाइन मिडिया र आफ्नै या आफूनिकट साथीभाइका सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम या संसद बैठकबाट पहिले नै ‘एक्सपोज’ गरिहाल्थे । उनले सहकारी प्रकरणमा आफू पक्राउ पर्ने कुरा संसद्मै भनिसकेका थिए । पछि हुने कुरा अगाडि नै भनेर ‘फ्यान’हरूको ‘सेन्टिमेन्ट’ लिनसक्ने उनी चतुरै मान्छे हुन् ।

कराउने सञ्चारकर्ममार्फत रविले ‘मिडिया राजनीति’ त गरिरहेकै थिए । मिडिया राजनीतिभन्दा ‘इस्यु’ बुझेर प्रभावित हुने सर्वसाधारणको भावना जितिरहेकै थिए । त्यही क्रममा बालेन्द्र साह र हर्क साम्पाङ्हरूले स्वतन्त्र रूपमा स्थानीय राजनीतिमा पाएको सफलताबाट हौसिए । मिडिया राजनीतिले मात्रै चित्त नबुझेपछि पार्टी नै खोलेर चुनाव लडे । पुराना दल र नेताको शासनशैली र व्यवहारबाट वाक्कदिक्क भएका नागरिकले रवि र उनको पार्टीमा आशा–भरोसा देखे । रविको पार्टीले त्यो ‘ग्याप’ लाई केही हदसम्म ‘क्यास’ गर्नसक्यो । प्रत्यक्ष राजनीतिमा हाम्फालेको ६ महिनामै उनको पार्टीले प्रत्यक्ष र समानुपातिक १४ गरी २१ सिट ल्याएपछि नेपाली राजनीतिक पोखरीमा तरंग आयो । ठूला भनिएका तीनै दल उनलाई आफूतिर तान्न बाध्य भए ।

त्यतिबेला  उनको साथमा मनको बह पोख्ने टेलिभिजन थियो । कतिपय मिडियाले उठाएको उनकै हित अनुकूलका विषयलाई 'क्षेप्यास्त्र' ठानेर प्रतिशोधमा उत्रिए । व्यक्तिगत 'इगो' ठाने प्रशासनिक प्रक्रियालाई । कमाजोरीलाई त्यतिबेलै सच्याएको भए कानुनी विपत्तिहरु आउने थिएनन् । 

राजनीतिमा आएदेखि यो वा त्यो नाममा रवि चर्चामै छन् । सहकारी प्रकरणमा मुद्दा खेपिरहेका उनको सांसद् पद निलम्बित छ । तर राजनीतिक कारण जे जे भए पनि आजको अवस्था आउनुमा उनका धेरै कमजोरी छन् । बाह्यरूपमा देखिएका कमजोरीलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । प्रत्यक्ष राजनीतिक अनुभवको कमी : उनी राजनीतिमा आए पनि अनुभवी थिएनन् । पार्टी र सङ्गठन व्यवस्थापन, परम्परागत राजनीति र प्रशासनको अनुभव थिएन । यतिमात्रै होइन, राजनीतिमा सफल बन्न जनताको ‘इमोसन’ मात्रै भएर हुँदैन, दलको हातमा राज्यसंयन्त्रहरूको सहयोग र मिडियाको साथ पनि चाहिन्छ भन्ने कुरा बुझेनन् । परम्परागत दल र तिनका नेताहरू अनुभवी खेलाडी थिए, यी नयाँ खेलाडीलाई उनीरूसँग जुध्न गाह्रो पर्‍यो, परिरहेको छ । देशभर संगठन विस्तारमा लाग्नुको सट्टा तत्कालै सरकारमा गएर आलोचित हुनु अर्काे कमजोरी थियो ।

विरोधीहरूको रणनीति नबुझ्नु : नेपाली राजनीतिको परम्परागत ठूलो हिस्सा उनलाई नेता स्वीकार्न तयार भएन, अझै तयार छैन । परम्परागत दलहरूले उनलाई भाग खोस्न आएको जस्तै ठाने । जस्तो कि जङ्गलमा नयाँ जनावर देख्दा जङ्गली जनावरहरू भयभीत र आश्चर्यचकित भएजस्तै भयो बालेन, हर्क, गोपी र रविहरू नेपाली राजनीतिक जङ्गलमा आउँदा । त्यही भएर रविका आफ्नै कमजोरीहरूमा टेकी परम्परागत नेता, पार्टी, मिडिया, साथीभाइहरूले खेलिरहे भने पुराना दलका समर्थकहरू हाबी भएको ब्युरोक्रेसी र राज्यसंयन्त्रले रविहरूलाई स्वीकार्न सक्ने कुरै भएन । यस्तै भर्खर राजनीतिमा देखिएका रवि र उनको पार्टीलाई छिमेकी देश र मिडियाले तत्काल ‘भाउ’ दिने कुरै भएन ।

अहम् र विवादास्पद छवि : मिडियामा रहँदा ‘साना फटाहा’का साना कमजोरी देखाउने र ‘ठूला फटाहा’का ठूला अपराध लुकाएर फाइदा लिने गरेको भन्ने आरोपको अहिलेसम्म खण्डन भएको छैन । यस्तै विषयलाई लिएर त्यतिबेला उनी कार्यरत टेलिभिजनविरूद्ध प्रेस काउनीसलमा नागरिकले दिएको पत्रकार आचारसंहितासम्बन्धी उजुरीको सोधनीमा त्यसलाई ‘रेस्पोन्स’ गरेनन् । त्यसलाई गलतहरूको सल्लाह या आफ्नै अहमताका कारण सहजरूपमा किनारा नलगाई आफैँले बजारभरि फिँजाए । काउनीसल जानपरे बुट पालिस गरेर बस्ने जवाफ दिए सामाजिक सञ्जालमार्फत । किनकि त्यतिबेला उनको साथमा मनको बह पोख्ने टेलिभिजन थियो । कतिपय मिडियाले उठाएको उनकै हित अनुकूलका विषयलाई ‘क्षेप्यास्त्र’ ठानेर प्रतिशोधमा उत्रिए ।

व्यक्तिगत ‘इगो’ ठाने प्रशासनिक प्रक्रियालाई । विषयलाई तोडमोड गरेर त्यहाँका कर्मचारीलाई मार्नेसम्मको धम्की दिइयो रविका फ्यानहरूबाट । उनले आफ्ना कमजोरीलाई त्यतिबेलै सच्याएको भए कानुनी विपत्तिहरू आउने थिएनन् । अहमता प्रदर्शन गर्दा प्रकारान्तरले त्यसको क्षति उनैलाई भयो । यस्तै, उनी नागरिकता, पासपोर्ट, पत्रकार शालिकराम पुडासैनी आत्महत्या, आफ्नै ड्राइभर शम्भुको आत्महत्या प्रकरण, गृहमन्त्री हुँदाका राष्ट्रिय परिचयपत्रलगायत केही निर्णय, सहकारीको रकम हिनामिनाजस्ता आरोपहरूबाट मुक्त हुनसकेका छैनन् अझै ।

धैर्यता कम आतुरता बढी : जीवनयात्राको गाडीलाई आत्तिएर तीव्र गतिमा दौडाउनुहुन्न, मात्तिएर खरायोझैँ निदाई बस्ने पनि होइन । यसलाई बीचको गतिमा अगाडि बढाउनुपर्छ । रविमा कुनै पनि विषयमा बोल्ने, निर्णय लिने, आलोचना गर्ने विषयमा धैर्यताभन्दा आतुरता बढी देखियो । भनाइ नै छ नि, बोल्यो कि पोल्यो, तित्राको मुखै बैरी । रविले पनि यसै गरे । भौगोलिक राजनीतिमा होमिएपछि पनि आफूलाई थाम्न सकेनन् । मिलाएर खेल्न जानेनन् राजनीतिक खेल । क्षणिक शक्ति आर्जनका लागि जे पनि बोलिदिए । आफैैँ दलको नेता बने । सल्लाह, सुझाव दिने परिपक्व अभिभावक भएनन् या भनेको मानेनन् । 

यस्तै उनको बोली र व्यवहारमा विनम्रताभन्दा आवेग, आवेश, अहङ्कार बढी झल्कियो । चितवनबासी मतदाताको निराशाको भर्‍याङ्ग चढेर राजनीतिमा आउने मौका पाए पनि त्यसलाई नम्रता र संयमतामा परिणत गर्न सक्नुपर्दथ्यो । त्यसो गर्न सकेनन् । बौद्धिकभन्दा भावमय दिमाग बढी चल्यो । मनलाई नियन्त्रण गर्न सकेनन् । मनको चञ्चलताले फसायो ।

एकैचोटी चौतर्फी प्रहार : उनले एकैचोटी चौतर्फी शत्रु कमाउने काम गरे । सबै शक्ति केन्द्रलाई चिढ्याए । फरक पार्टीका वरिष्ठ नेताहरूदेखि प्रमुख मिडियालाई समेत बाँकी राखेनन् । मुलुकमा लामो वर्षाैँदेखि ‘धनाढ्य आडम्बर’ पालिरहेका घरानियाहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरे । त्यसैले सबैतिरका शक्तिकेन्द्रहरू एकैसाथ रुष्ट भएर प्रहार गर्न थाले ।

तालमेल नमिल्ने कार्यशैली : राजनीतिमा आए पनि उनमा सञ्चारकर्मका शैली र गुणहरू कायम नै रहे । राजनीतिक कार्यकर्ताको शैली र गुण पत्रकारितामा नमिलेजस्तै पत्रकारिताका कार्यशैली र गुण परम्परागत राजनीतिमा मिलेन । नेता, सांसद्, मन्त्री, भइसकेका व्यक्ति जाजरकोट जिल्लामा भूकम्प गएका बेला एफएममा समाचर पढ्न पुगे । उनका यस्ता लहड र केटौलेपन अनेक देखिए । कतिपय सन्दर्भमा गरिएका ‘स्टन्टबाजी’ले मिडियाको समर्थनभन्दा आलोचना नै पायो ।

किन पुछेन मिडियाले ?

पत्रकारिता र आमसञ्चारबाहेक अन्य क्षेत्रको कुनै व्यक्ति यसरी राजनीतिमा आएर यति छिट्टै सफल भएको भए नेपाली मिडियाले त्यसलाई खोजी र ‘स्कुप न्युज’ ठान्थ्यो । आफ्नै क्षेत्रको शान र गौरव भन्दै प्रमुख स्थान दिन्थ्यो । तर रवि सञ्चार (त्यो पनि विवादास्पद रूपमा) क्षेत्रबाट आएको हुँदा समाचारको महत्व र मूल्य देखेनन् मिडियाले । नेपाली मिडियामा लगानी पारदर्शिता, स्वतन्त्र र व्यावसायिक पत्रकारिताका समस्याहरू अहिले पनि छन् । यसलाई व्यवस्थित ढङ्गले उठाउनुको सट्टा सस्तो लोकप्रियता कमाउने लोभमा एउटै ‘फायर’ले सबै समस्या समाधान गर्नखोजे झैँ गिजोलेर शत्रुता कमाइसकेका थिए । मूलप्रवाहका पत्रकार र मिडियामाथि ‘शब्दवाण’ हानेर पर पुर्‍याइसकेका थिए । त्यही भएर मूलप्रवाहको मिडिया उनलाई नेता स्वीकार्न तयार भएन र अझै पनि छैन ।

अर्काे कारण के हो भने, आफ्नै क्षेत्रको मानिस रातारात माथि पुगेको, खहरेझैँ एक्कासी उर्लिएको त्यही क्षेत्रकालाई मन नपर्ने र भरोसा नलाग्ने मनोविज्ञान हुँदोरहेछ सायद । अर्काे केहीछिन अघिसम्म भाइ भाइ मानेको ‘केटो’ लाई फिल्मी शैलीमा नेता, सांसद्, उपप्रधानमन्त्री, गृहमन्त्री मान्नलाई सोही क्षेत्रका पत्रकार दाजुभाइ तथा दिदीबहिनीको ब्रह्माले मान्दोरहेनछ । यस्तै, एउटै व्यक्ति तथा पार्टीको विषयमा श्रृङ्खलाबद्ध समाचार आउनु पत्रकार आचारसंहिताविपरीत हो । कतिपय मिडियाले उनीविरुद्ध एकपक्षीय समाचार–सामग्री सम्प्रेषण गरेको भए पनि उजुरी गर्न खोजेनन् किनकि उनले पाँच वर्ष पहिले नै काउन्सिलमा जानुपरे ‘बुट पालिस’ गरेर बस्ने उद्घोष गरिसकेका थिए । 

अतः रविले देशभरि नै सबैभन्दा बढी भोट ल्याउँदा पनि त्यसअनुसारको ‘संबोधन’ पाउन सकेनन्, सकेका छैनन् । उनीबारे उठाइएका हरेक विषयबारे कि उनकै आत्मा, कि उनै परामात्मा, कि निकिता, कि मनोवैज्ञानिक त कि राज्यलाई मात्रै थाहा होला । तर चितवनका जनताले रविलाई दुई–दुईपटक अत्यधिक मतले जिताएको यथार्थ भने कसैले मेट्न सक्दैन । आ–आफ्नो कर्मको फल मानव मात्रै होइन, यस धर्तीका सबै प्राणीले भोग्नैपर्छ । सबै जीवात्मा प्रकृतिको कठघरामा उभिनैपर्छ । रविलाई पनि आफ्नो कर्मअनुसारको फल मिल्दै जाला तर ‘सामाजिक हिरो’ बन्न चाहने जो–कोहीले आफ्ना कमजोरीहरू नसच्याए यस्तै अवस्था आउँछ । 
 

टिप्पणीहरू