चीनको यिवू शहर : उच्च विकासको अर्को अनुपम नमूना
– राजकुमार खड्का
म चीनको चच्याङ् प्रान्तको यिवु शहरमा विगत १२ वर्षदेखि बस्दै आएको छु । तर मेरो प्यारो चीनसँको सम्बन्ध भने त्योभन्दा झण्डै दोब्बर वर्षले पुरानो छ ।
आजभन्दा तीन दशकअघि म र मेरा दाजु आरसी खड्काले काठमाडौंमा बेल्ट र पर्सको पसल खोलेका थियौं । हामी केही सामान काठमाडौंमा किन्थ्यौं भने केही सामान भारत र थाइलैण्डबाट मगाउँथ्यौं । त्यो समयमा काठमाडौंमा हाम्रो बाहेक त्यस्ता होलसेल पसल दुई चार वटा मात्र थिए । बाहिरबाट आयातित सामान स्टोरमा थन्क्याउन नभ्याउँदै बाहिरैबाट बिक्री हुन्थे ।
केही वर्षपछि चीनका ग्वाङ्झौ, शांघाई, तथा यिवु शहरको नाम बिस्तारै सुनिन थाले । किशोरवयमा म नेपालभित्र होस् वा बाहिरका विभिन्न ठाउँको बारेमा जान्न उत्सुक हुन्थेँ । त्यसैले मैले दाजुलाई बारम्बार चीन गएर सामान ल्याउन कर गरिरहेँ । तर दाइले किन हो चीन गएर सामान ल्याउन मान्नु भएन । समयको अभाव र व्यस्तता पनि कारण थिए होलान् । यो लेख दाइले पढ्नु भयो भने शायद हाँस्नु हुन्छ होला ।
करिव २८/३० वर्षअघि हवाई टिकट पनि महँगै थियो । नेपाली रुपैयाँमा सोध्नु हुन्छ भने एक लाख नै पथ्र्यो । होटलमा खान र बस्न त्यत्तिकै महँगोे । त्यो समय नै बेग्लै थियो । शांघाई र ग्वाङ्झौको थप विकास त्यसबेला भएको थियो । तर म अहिले बसेको यिवू भने उनीहरुको तुलनामा निकै पिछडिएको अवस्थामा थियो ।
यिवू पुगेपछि सामान किनेर नेपालमा लैजान बजार जानुअघि आकाशतिर हेर्नुपथ्र्यो । आज आकाशमा बादल छ कि छैन ? पानी पर्छ कि पर्दैैन भनेर । छाता बोकेर हिँड्नु पथ्र्यो । किनकी यिवूको थोक बजारको भवन पुरानो थियो र ठूलो पानी पर्दा सामान सबै भिज्ने डरले व्यवसायीहरु छाता ओढेरै सामान बेच्थे ।
त्यो बेला प्रथम चरणको डिस्ट्रिक्ट वान फु तियान बजार निर्माणाधीन अवस्थामा थियो । पर्याप्त नभएकाले ट्याक्सी जताततै पाइँदैनथ्यो । धेरैपटक यताउता जाँदा तीन पांग्रे धातुको रिक्सामा हाम्रो सामान लोड गरेर एक ठाउँबाट अर्को ठाउँमा गयौं । यो कुरा अहिलेका पुस्तालाई बताउँदा पत्यार नलाग्न सक्छ । त्यो केवल २२/२३ बर्ष अगाडिको मात्र कुरा हो ।
यो अवधिमा चीनले कति ठूलो फड्को मार्योे भन्ने कुरा अर्थशास्त्री, राजनीतिज्ञ तथा विश्वभरका जनताले देखेका छन् । मैले मेरो प्यारो चीनलाई देखेको, बुझेको वा छोएको वा अनुभव गरेको कथा भन्नुअघि म मेरो चिनियाँ नाम कसरी ‘प्रिन्स’ रह्यो भन्ने कुरा बताउन चाहन्छु । चीनमा धेरैजसो मानिसले आफ्नो वास्तविक नामसँगै अंग्रेजी नाम पनि राख्ने गर्छन् । यसबाट उनीहरुसँग सम्बन्ध भएका विदेशीहरुलाई नाम सम्झन सजिलो होस् भन्ने उद्देश्य मुख्य हो । विगत १२ र्षमा मैले धेरै चिनियाँ साथीहरुलाई उनीहरुको अनुरोधमा अंग्रेजी तथा नेपाली नाम के राख्ने भनेर सयौं नाम सुझाएको छु ।
म प्रायः चीनको यिवू शहरमै बस्ने भएपछि मलाई पनि चालक प्रमाणपत्र चाहिने भयो । सँधै बस र ट्याक्सी प्रयोग गर्न पनि सम्भव थिएन । कम्प्युटरमा देखाउँदा मेरो नेपाली लाइसेन्सको म्याद सकिएको देखायो । त्यसैले मैले जोन नाम गरेका एक भलाद्मीबाट मेरा कागजात अनुवाद गर्न लगाएँ । चिनियाँ लाइसेन्सका लागि दरखास्त फारम भरँें । फारम भर्दा मैले मेरो नेपाली नामको सटृा के भर्ने भन्ने समस्या पर्यो । तर मेरो नेपाली नाम राजकुमार भएकाले यसको अंग्रेजीमा अनुवाद गर्दा ‘प्रिन्स’ हुने हुनाले मैले प्रिन्सको चिनियाँ अनुवाद वाङ् जी भर्न लगाएँ । यसरी मेरो चिनियाँ नाम वाङ् जी रहन गयो ।
मैले मेरो चालक लाइसेन्स पाएपछि सामान चेक गर्न यातायात कम्पनीमा गएँ । सामानमा व्यापारीबाट आएको नेपालमा पठाइने साल्मन माछा थियो । यो सामान चीनबाट नेपालको सिमानासम्म ट्रकमा पुर्याइन्थ्यो र त्यहाँबाट नेपालको ट्रकमा लोड गरी नेपालको राजधानी काठमाडौं र त्यहाँबाट विभिन्न जिल्लाहरुमा पुर्याइन्थ्यो ।
सन् २०१५ को महाभूकम्पपछि नेपालतर्फ चीनको सिमानासम्मको सडक बिग्रेपछि सामानलाई तेस्रो देश अर्थात भारतको कलकत्ता हुँदै पठाउनुपर्ने भयो । यसरी दुईदेशको व्यापारमा तेस्रो देशको सहयोगको आवश्यकता परेको हो ।
अहिले समय निकै परिवर्तन भइसकेको छ । चीन प्रविधिको विकासमा उच्च शिखरमा पुगेको छ । पहिले नेपालबाट चीन आउँदा हङकङबाट मात्र सम्भव थिया । अहिले नेपालबाट चीनका शांघाई, बेइजिङ, ग्वाङझौ, छन्तु, खुन्मिङ आदि शहरहरुमा दैनिक उडान हुन्छन् । ग्वाङ्झौपछि यिवू आइपुग्न २०/२२ घण्टा रेलयात्रा गर्नुपथ्र्यो । अहिले ग्वाङ्झौबाट दुई घण्टा सम्ममा विमानबाट आउन सकिन्छ भने टे«नबाट पनि ६÷७ घण्टामा आइपुगिन्छ ।
त्यो बेला बैंकमा गएर पैसा झिकेपछि गन्दै सवारी साधन चढेर व्यापारीलाई पैसा पुनः पटकपटक गनेर तिर्नुपथ्र्यो । तर अहिले प्रविधिको विकासले मोबाइलबाटै एक सेकेण्डमा पैसा तिर्न सकिन्छ । चीनमा त्यो हरेक क्षेत्रमा प्रयोग हुन थालेको छ । एउटा सानो उदाहरण दिन चाहन्छु ।
हामी सुन्दर यिवू शहर सौन्दर्यीकरण संघमा करिब १५ सय चिनियाँ तथा हामी ५/६ जना विदेशी पनि आबद्ध छौं । हामीलाई मोबाइलमा एउटा इन्जिनियरिङको एप डाउनलोड गर्न भनियो । यसमा बाहिर सडकमा कतै फोहोर वा कुनै कुरा टुटेफुटेको देखिएमा सो एपबाट फोटो खिचेर हाम्रो वीच्याट् गु्रपमा पठाउन भनियो । उक्त गु्रप ५÷६ वर्ष अगाडिदेखि नै प्रयोगमा छ । यो निकै राम्रो थियो । तर मलाई पहिले त यो देखाउन वा भन्नका लागि मात्र होला जस्तो लागेको थियो ।
अरु देशबाट चीन आउँदा होस् या चीनबाट अन्यत्र जाँदा भिसा प्रक्रिया सबै डिजिटल भएको छ । रेल होस् वा बस वा विमान जहाँबाट यात्रा गर्दा पनि चिनियाँ मात्र होइन विदेशीहरु पनि यो प्रयोग गर्न थालेका छन् । अनलाइनबाट टिकट काट्छन् र पासपोर्ट लिएर जान्छन् । पैसा बोक्ने झञ्झट नै पर्दैन । यसको प्रभावका कारण नेपालमा पनि केही व्यवसायमा मोबाइलमार्फत नगदविहीन अनलाइन कारोबार गर्न थालिएको छ । यसले सकारात्मक प्रभाव पारेको देखिन्छ ।
यदी तपाईं भिसा आवेदन भर्न चाहनुहुन्छ भने एउटा व्यापारिक कम्पनी दर्ता गर्नुहोस्, सरकारले प्रदान गरेको एपमा जानुहोस्, आफ्नो सबै कागजात पठाउनुहोस् र आवेदन दिनुहोस् । पाँचदेखि आठ दिनमा नतिजा पाउनुहुनेछ । के यो मानिसका लागि सजिलो भएन त ?
हामी अहिले २१ औं शताब्दीमा छौं । विज्ञान र प्रविधिले निकै फड्को मारेको छ । चीन पनि विश्वसँग हातेमालो गर्दै बेल्ट एण्ड रोडको माध्यमबाट आफूलाई मात्र विकास गर्ने नभएर खुला हृदयले सम्पूर्ण विश्वलाई नै शान्तिपूर्ण र सुखी बनाउन विकासको पथमा अघि बढेको छ ।
विश्वका मुलुकहरुबीच महत्वाकांक्षा, अहम र द्वन्द्वको परिप्रेक्ष्यमा चीन नै विश्वमा सबै राष्ट्रहरुले विश्वास गर्नसक्ने मुलुक हो । त्यसैले यस अवधिमा हामी र हामीजस्ता धेरै देशवासीलाई आशा छ कि चीनले विश्व शान्तिका प्रयासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । दक्षिण एशियाको एक राष्ट्रको व्यापारीको रुपमा म हाम्रो देशजस्तो विकासोन्मुख राष्ट्रले बिआरआईबाट धेरै लाभ लिनसक्छ भन्ने सोच्दछु । हामीले हाम्रो देशको कृषि, सडक, पर्यटन जस्ता क्षेत्रलाई विकास गर्न तत्काल ऋण लिएर लगानी गर्नु पर्दछ । हामीले छिमेकी राष्ट्रसँगै विकासको मार्गमा कसरी हिँड्ने भन्ने कुरा सिक्नु पर्दछ । हाम्रो छिमेकी तथा मित्र राष्ट्र चीनले यो कुरालाई राम्रोसँग बुझ्दछ । त्यसैले नै उसले नेपाल मात्र नभएर सारा विश्वलाई नै विकास र प्रगतिमा समान हिस्सेदारी दिन आतुर रहेको छ । हामीले आपसमा सबैको भलो र उन्नतीको मार्ग अपनाउनु पर्दछ । यदि छिमेकीहरु खुशी भए भने यो चीनका लागि झन् धेरै खुशीको कुरा हुन्छ ।
कन्फुसियसले हामीलाई सिकाउनु पनि भएको छ । यदि तिम्रा छिमेकीहरु धनी र खुशी भए भने तिमीले उनीहरुको झगडा सुन्नुपर्ने छैन । हामीले हाम्रो दुई देशका सरकारलाई मात्र बलियो बनाउने मात्र नभई उनीहरुका संस्कृति, कला र आस्थाको जगलाई पनि बलियो बनाउनु पर्दछ । त्यसका लागि सांस्कृतिक आदानप्रदान गर्ने भएकोमा म नेपाली जनताको तर्फबाट चीन सरकारलाई धन्यवाद दिन्छु । कला र संस्कृतिको आपसी सम्मानले मित्रतालाई गाढा बनाउँछ । यस्तो क्रियाकलापलाई सहयोग र प्रवद्र्धन गर्नमा म र हामी जस्ता एक अर्का देशमा वस्ने मानिस र समूहहरुलाई प्रयोग गर्न सकिन्छ ।
(राजकुमार खड्का पूर्वी चीनमा नेपालको उद्योग वाणिज्य महासंघका प्रतिनिधि हुनुहुन्छ । उहाँ चिनियाँ अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघको सदस्य पनि हुनुहुन्छ । साथै उहाँ विदेशी संलग्न विवादहरुमा मध्यस्थता गर्ने मध्यस्थकर्ता पनि हुनुहुन्छ । उहाँ फ्रेन्ड्सिप एलाइन्स अफ फरेन बिजनेसम्यान तथा यिवू शहर निर्माण तथा सुन्दरता प्रवद्र्धन संघको पनि सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय स्वयंसेवक क्लब तथा चिनह्वा शहरका जिरो वेष्ट इन्टरनेसनलका दूत पनि हुनुहुन्छ ।)
टिप्पणीहरू