पुलले गरायो सासुबुहारीको पुनर्मिलन

पुलले गरायो सासुबुहारीको पुनर्मिलन

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर २ की मैया थापाले आफ्नी सासुसँग तीन वर्षपछि भेट गर्न पाइन् । सासुलाई भेट्ने मन हुँदाहुदै पनि शारीरिक अशक्तता र भौगोलिक विकटताका कारण थापाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ बस्दै आएकी सासु माइली थापालाई पछिल्लो तीन वर्षभन्दा बढी समयदेखि भेट गर्न पाएकी थिइनन् । 

त्यसो त सासु र बुहारीको घर वारी र पारी हो । तर बीचमा झ्याडी खोलामाथिको पुल लामो समयदेखि जीर्ण भएका कारण उनीहरुबीच भेट हुन सकिरहेको थिएन । गत शनिबार भने सासु बुहारीको भेट भएको छ ।

 

तीन वर्षपछि बुहारी आफूलाई भेट्न आउँदा सासु माइली  दंग मात्र भइनन् गहभरि हर्षको आँसु झार्दै भन्न थालिन्, ‘यो पुलको कारण हामीबीच भेटघाट भयो । सासु बुहारीको गाउँ जोड्न झ्याडी खोलामाथि नयाँ पुल बन्यो । सोही पुल हुँदै बुहारी मैया थापा सासुलाई भेट्न गएकी हुन् । 

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । ४० लाखको लागतमा निर्मित पुलको उद्घाटन नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गरे । 

पुल निर्माणपछि आवतजावतमा सहज भएका कारण स्थानीय गदगद छन् । पुल नहुँदा वारीबाट पारी र पारीबाट वारी आउन घण्टौं लगाएर पैदल हिँड्नुपर्ने बाध्यता झेल्दै आएका स्थानीयले पुल बनेपछि राहत महशुस गरेका हुन् ।

टिप्पणीहरू