एमाले मुख्यमन्त्रीको राजीनामा मागियो
नेपाली काँग्रेसको प्रदेश सभा संसदीय दलको कार्यालय, कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सरकारबाट तत्काल राजीनामा दिन माग गरेको छ ।
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न संसदीय दलको कार्यालयले आग्रह गरेको हो ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले गैरजिम्मेवारपूर्ण कार्य गरेको आरोप लगाएका छन् । बजेटको समयमा अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुको साटो प्रदेश सभाको अधिवेशन स्थगन गरेर प्रदेशमा झन् समस्या थपिदिएको उनको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बजेटको समयमा अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुको साटो मिति २०८० जेष्ठ २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र प्रदेशमा अझ झन् समस्या थप्नतिर उद्दत भएको स्पष्ट हुन्छ ।’
प्रदेश सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजेको आरोप लगाउँदै संसदीय दलको कार्यालयले प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेशमार्फत् ल्याउन गरिएको गलत कदमप्रति आपत्ति जनाएको छ ।
टिप्पणीहरू