माइतीघरमा 'केपी ओली मूर्दावाद'को नारा
नागरिकताविहीन संघर्ष समितिले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा कार्यान्वयनमा गैसकेको नागरिकता विधेयक सर्वोच्च अदालतले तत्काल लागू नगर्न आदेश दिएपछि तराई-मधेस केन्द्रित आन्दोलन गरिरहेको संघर्ष समितिले काठमाडौँमा प्रदर्शन शुरु गरेको हो । आज माइतीघरमा भेला भएका नागरिकताविहीनहरुले आफूहरुलाई वर्षौँदेखि अनागरिक बनाइएको भन्दै चर्को आक्रोश पोखे ।
त्यसक्रममा उनीहरुले नागरिकतासम्बन्धी प्रावधान समेटिएको कानुनको पूर्ण पालना गर्न माग गर्दै विधेयकको विपक्षमा रहेका राजनीतिक दल, बिभिन्न संघसंस्था र व्यक्तिविरुद्ध नाराबाजीसमेत गरे ।

प्रदर्शनकारीहरुले 'दुइजिब्रे एमाले मूर्दावाद', 'केपी ओली मूर्दावाद', 'संविधानको उल्लङ्घन गर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कारवाही गर', 'नागरिकता विधेयक कार्यान्वयन गर', आमा नेपाली बुबा नेपाली हामी चैं कहाँको?', 'आमाको नामबाट नागरिकता दे', 'सर्वोच्च अदालत हामीलाई न्याय दे', लेखिएका प्लेकार्ड देखाएका थिए ।
हिजो भएको प्रदर्शनमा उनीहरुले नागरिकता विधेयकको विपक्षमा उभिएको भन्दै पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नारा लगाएका थिए ।
तत्कालीन राष्ट्रपति भण्डारीले दुई पटकसम्म रोकेको नागरिकता विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आग्रहमा यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरण गरेकोमा प्रमुख प्रतिपक्ष एमाले, रवि लामिछानेको रास्वपा र पूर्वपञ्चहरुको पार्टी राप्रपालगायतले विरोध गरिरहेका छन् । संसद्लाई छलेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको उनीहरुको आरोप छ ।
विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले उनीहरुको मागअनुसार नै अन्तरिम आदेश दिएपछि ऐनमा रुपान्तरण भैसकेको विधेयक पुरानै अवस्थामा फर्किएको छ ।
त्यसविरुद्ध वर्षौँदेखि नागरिकता नपाएका जन्मसिद्धका सन्तानहरु आन्दोलित भएका हुन् । आमा र बाबु दुवै नेपाली भएर पनि नागरिकता नपाउनेको संख्या नेपालमा झन्डै १२ लाख रहेको अनुमान छ ।





टिप्पणीहरू