आमाको पुण्य तिथिमा केक, सामाजिक सञ्जालमा खेद
एक जना नेपालीले आमाको पुण्य तिथि अर्थात् श्राध्दमा केक काट्न तयार रहेको फोटो पोष्ट गरेपछि धेरैतिरबाट विरोध र खेद व्यक्त गरिएको छ ।
पोषणविद् तथा चिकित्सकहरुले पितृहरुलाई पनि पत्रु खाना (जंक फुड) खुवाएको भन्दै व्यङ्ग्य गरेका छन् । पोषणविद् डा. अरुणा उप्रेतीले डा.करुणा वन्तको फेसबुकबाट साभार र सेयर गर्नुभएको उक्त केकबारे लेख्नुभएको छ, ‘हाम्रा पितृहरुलाई समेत पत्रु खाना ख्वाउने के चलन आयो ? अब किरियापुत्रीहरुले पनि यस्तो खाना खालान् ?’
केकमा लेखिएको छ, ‘हार्दिक श्रद्धाञ्जली आमा, स्वर्गमा बास होस् ।’ उक्त फोटो र केकमा लेखिएको स्टाटसलाई तोयनाथ भट्टराईले सांस्कृतिक विचलनको रुप भनेका छन् । रामेश्वर पन्त लेख्छन्, ‘अब त पिण्डको सट्टा मोमोका डल्ला चढाउन पनि सक्लान् ।’
‘तस्वीर देख्दा पनि दिक्क लाग्यो’ भनेर सिर्जना शर्माले लेखेपछि पुुष्पाञ्जली उपाध्यायले केकको करामत भन्दै जन्मिँदै केक, मर्दै केकको संज्ञा दिएका छन् । खेम नेपाल लेख्छन्, ‘मानिसहरुमा आम सोच हराउन थाल्यो ।’ अमेरिकामा जन्मेकी ८ वर्षिया नेपाली मूलकी बालिकाले ‘केक त हेप्पी हुँदा पो खाने हो’ भनेर जवाफ दिएकी छन् ।
टिप्पणीहरू