जासुसको जागिरे जवानी,२६ बर्षमै खरानी
साढे दुई दशकको सरकारी सेवामा छँदै राम्रा भनिएका अधिकृतले अवकाश पाउँदा कसलाई फाइदा होला ? राज्यले २६ वर्षसम्म लगानी गरेर सक्षम अधिकृत बनाएपछि ३० पनि टेक्नै नपाई एकाएक घर जाँदा सबैभन्दा बढी घाटा सरकार र स्वयम् राज्यलाई हुने नै भयो । भलै उमेर छँदै घर पठाइएका त्यस्ता कर्मचारीले तोकिएको पेन्सन रकम पाउँछन् । उमेर भएकाले उनलाई अरु व्यवसाय गर्न पनि नियमले रोक्दैन ।
अहिले राष्ट्रिय अनुसन्धान विभागमा २६ वर्षको सेवामा रहेका एक जना डिआइजीले अवकाश पाउन लागेका छन् । आगामी तीन दिनभित्र उनको बारेमा केही निर्णय नभएको अवस्थामा माथि भनिएझैँ उनी घर जानेछन् । महिना महिनामा पेन्सन थाप्छन्, रुचीबमोजिमको व्यवसाय पनि गर्न सक्छन् । तर, उनी सरहको अधिकृत बनाउन विभाग अर्थात् राज्यले अर्को साढे दुई दशक कुर्नुपर्छ र दशौं लाख खर्चिनुपर्ने निश्चित छ ।
राष्ट्रिय अनुसन्धान विभागभित्र २०५३ सालमा काठमाडौंको नेवार समुदायको एउटा भर्खरको ठिटोले इन्स्पेक्टरमा नाम निकालेको थियो । तिनै सुमन वैद्य अहिले डिआइजी छन् । तर, आगामी तीन दिनपछि अवकाश पाउँदैछन् । सेवाकालमा उनले क्षमता प्रदर्शन गरेको स्वयम् विभागका अधिकारीहरु बताउँछन् । डिआइजीको कार्यकाल ५ वर्ष पूरा हुने भएकाले उनले जेठ ३० गतेदेखि अवकाश पाउन लागेका हुन् ।
‘सक्षम व्यक्तिलाई राष्ट्रले चिन्दैन जस्तो लाग्यो । यी वैद्य विभिन्न षड्यन्त्रको शिकार भए । एआइजी नहुँदै पाँच वर्षमा डिआइजीबाट अवकाश हुन लागे,’ अनुसन्धान विभागका अवकाशप्राप्त एकजना उच्च अधिकारीले बताए । एआइजीको एउटा दरबन्दी नथपेका कारण वैद्य अवकाशको मुखमा पुगेको उनको भनाई छ ।
यसअघि विभिन्न समयमा विभागमा तीन वटा एआइजीको दरबन्दी थियो । तीन जना नै कार्यरत थिए । अहिले पनि एक जना एआइजी थप्न सक्ने प्रावधान रहेको बताइन्छ । तीन जनाको दरबन्दी हुँदा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न बहानामा दुई जनालाई हटाएको थियो । त्यसपछि देउवा नेतृत्वको सरकारले एक जना थपेर दुई जना बनायो । ओलीको पालामा पूर्वाग्रही ढंगले दुई जनाको दरबन्दी घटाइए पनि अहिले सरकारले आवश्यकता महशुस गरेमा अर्को एउटा दरबन्दी थप्न सक्ने देखिन्छ ।
वैद्य माओवादी जनयुद्धकालमा २०५७ देखि २०६४ सालसम्म मध्यपश्चिमाञ्चलमा कार्यरत थिए । बदनाम हुने कुनै हर्कत नगरेकाले उनी अन्य समकक्षीको तुलनामा इमानदार कहलिए । त्यसपछि तराई मधेशमा देखिएको भूमिगत समूहको बिगबिगीमा बर्दियामा बसेर राम्रै काम गरेको त्यसबेलाका अनुसन्धान विभागका हाकिमहरु बताउँछन् । ‘भूमिगत समूहको सबै सूचना संकलन गरेर राज्यलाई गुन लगाउनेमध्ये वैद्य पनि एक हुन् । भूमिगत समूहका संयोजक भगत सिंहलाई पक्रन उल्लेख्य भूमिका खेलेका थिए,’ ती हाकिमले भने ।
त्यसैगरी मधेश आन्दोलनताका सप्तरीमा खटिएका उनले सरकार र मधेशका आन्दोलनकारीबीच सम्पर्क र वार्ता गराउन सेतुको भूमिका निर्वाह गरेको अहिले पनि राजनीतिक सन्दर्भमा चर्चा हुने गरेको छ ।
टिप्पणीहरू