सुनमा लगाइएको कर खारेज गर्न माग

सुनमा लगाइएको कर खारेज गर्न माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा दुई प्रतिशत विलासिता कर लगाउने निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । 

सुनचाँदी व्यवसायमा आबद्ध तीनवटा महासंघले तत्काल सो कर लगाउने घोषणा फिर्ता गर्न सरकारसमक्ष माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हित विपरीत भएको बताएका छन् । 

सरकारले परम्परागत र रैथाने व्यवसायलाई प्रवद्र्धन गर्ने भनिएको बजेटको नीति विपरीत हुनेगरी सुनचाँदीका वस्तुमा दुई प्रतिशत विलासित कर लगाउने घोषणा गरेको उनीहरुको आरोप छ । साथै, विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने तथा त्यसमा रसायनसहितका गरगहना हुनुपर्ने नीति अवलम्बन गरेकोमा पनि व्यवसायीहरुले विरोध जनाएका हुन् । 

उनीहरुले भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी विश्व व्यापार संगठनको प्रावधानअनुरुप खुला आयात नीति लागू गर्न माग गरेका छन् । 

योसँगै राज्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्तामाथि कर थोपर्ने नीति लिएको आरोप लगाउँदै आगामी आर्थिक वर्षको बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दर ५० प्रतिशत वृद्धि गरेको महासंघले जनाएको छ ।
 

टिप्पणीहरू