एमाले कर्मचारीहरुको १९ बुँदे निचोड, महिनावारीमा बिदा माग
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले नेपालको संविधान तथा कानुनले व्यवस्था गरेको महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गर्ने भएको छ । ‘समता र सशक्तीकरण : सेवामा सबलिकरण’ भन्ने मूल नाराका साथ हिजो र आज काठमाडौंमा आयोजित भेला महिला हकहितका निम्ति १९ बुँदे निर्णय गर्दै सकिएको छ ।
नागरिक अधिकारको रुपमा रहेको विविधता, समता र समावेशी सिद्धान्तलाई पूर्णरुपमा कार्यान्वयन गर्न, लिङ्गको आधारमा कसैलाई विभेद र निरुत्साहित गर्न नपाइने नीतिलाई कडाइका साथ लागु गर्न, तालिम अध्ययन तथा वैदेशिक भ्रमणमा महिला कर्मचारीलाई प्राथमिकता दिन सरकारसँग माग गर्ने संगठनको निर्णय छ ।
त्यस्तै, राजपत्र अनंकित महिला कर्मचारीहरुलाई पनि अनिवार्य रुपमा र राजपत्रांकित महिला कर्मचारीलाई सम्भव भएसम्म उनीहरुको माग र आवश्यकताअनुसार पायक पर्ने स्थानमा सेवाको अवसर प्रदान गर्न, महिनावारीको समयमा तीन दिन बिदा दिन, वृत्ति विकासका अवसरहरुमा महिला कर्मचारीलाई विशेष प्राथमिकता दिन संगठनले सरकारलाई दबाब दिने भएको छ ।
साथै, सरकारले प्रदान गर्ने निजामती सेवा पुरस्कार र विभूषणलाई समानुपातिक बनाउनुपर्नेलगायत माग राख्ने निर्णय पनि गरिएको छ ।
टिप्पणीहरू