नागरिकता विधेयकबारे भारतीय सञ्चारमाध्यमको प्रचार : भारतलाई फाइदा, चीनलाई झट्का

नागरिकता विधेयकबारे भारतीय सञ्चारमाध्यमको प्रचार : भारतलाई फाइदा, चीनलाई झट्का

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि भारतीय सञ्चारमाध्यमले चीनलाई झट्का लागेको प्रचार गरेका छन् । उनीहरुले नागरिकताबारे चीनले जनाउँदै आएको आपत्ति खारेज भएको र प्रमाणीकरणपछि भारतलाई फाइदा भएको उल्लेख गरेका हुन् । 

न्यूज नेटवर्कको पत्रिका डट कमले विभिन्न शीर्षकमा लेखेको छ, ‘नेपालमा हजारौं तिब्बतीको बसोबास रहेको,शरणार्थीलाई राजनीतिक अधिकार प्राप्त भएको र दुई मुलुकबीच रोटी–बेटीको सम्बन्ध छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपति पौडेलले विवादित विधेयक प्रमाणीकरण गरेको पनि उल्लेख गरिएको छ ।
 
विनाआधार र प्रमाण चीनले उक्त विधेयकको विरोध गर्दै आएको पनि भारतीय सञ्चारमाध्यमले जनाएको छ । नेपालमा रहेका तिब्बती शरणार्थीले नेपाली नागरिकता प्राप्तीसँगै राजनीतिक अधिकार पाउने सम्भावनाप्रति चीनले आपत्ति जनाउँदै आएको भारतीय धारणा छ । समाचारमा लेखिएको छ, ‘भारतपछि सबैभन्दा धेरै तिब्बती शरणार्थी नेपालमा छन् । राष्ट्रसंघीय आप्रवासी संगठनका अनुसार तीन वर्षअघि नेपालमा १२ हजार ५४० जना तिब्बती शरणार्थी थिए ।’

त्यसैगरी विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरेलगत्तै अब नेपालको नागरिकता र राजनीतिक अधिकार प्राप्त हुने विषयलाई पनि समाचारमा जोड दिइएको छ ।

टिप्पणीहरू