उद्यानमा ज्येष्ठलाई छुट, शारीरिक अपाङ्गता भएकालाई निःशुल्क

उद्यानमा ज्येष्ठलाई छुट, शारीरिक अपाङ्गता भएकालाई निःशुल्क

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय वनस्पति उद्यानले ज्येष्ठ नागरिकलाई लक्षित गरी प्रवेश शुल्क घटाएको छ । ललितपुरको गोदावरीमा रहेको उद्यानले गत वर्षदेखि नै लागू हुने गरी प्रवेश शुल्क घटाएको जानकारी दिएको छ । 

उक्त शुल्क अघिल्लो वर्ष असार १९ गतेदेखि नै ज्येष्ठ नागरिकको हकमा १५ रुपैयाँ कायम गरिएको उद्यानका प्रमुख दीपक लामिछानेले बताए । त्यसअघि ५० रुपैयाँ लिइँदै आएकोमा ३५ रुपैयाँ घटाइएको उनको भनाई छ । 

‘पहिले शुल्कबारे कुनै प्रावधान नै थिएन । सबैलाई ५० रुपैयाँ लिँदै आइएको थियो । ज्येष्ठ नागरिकलाई छुट दिनुपर्छ भनेर १५ रुपैयाँ कायम गरेका हौं’, लामिछानेले भने । 

त्यस्तै, शारीरिक अवस्था ठीक नभएकालाई निःशुल्क प्रवेश दिने व्यवस्था मिलाइएको छ । उनका अनुसार दैनिक सरदर दुई हजार जनाले उद्यान भ्रमण गर्ने गरेका छन् । शनिबार पाँच हजारसम्म आगन्तुक आउने गरेको उनी बताउँछन् । 

गत साउन १ गतेदेखि यहि जेठ १३ गतेसम्म पाँच लाख आगन्तुकले उद्यानको भ्रमण गरेको प्रमुख लामिछानेले जानकारी दिए । यो आर्थिक वर्षमा उक्त संख्यालाई बढाएर छ लाख पुर्याउने योजनामा रहेको उनले सुनाए । 

उनी भन्छन, ‘इतिहासमै सबैभन्दा धेरै आगन्तुक भ्रमणमा आउनुभएको छ । अहिलेसम्म पाँच लाख आएको थाहा थिएन । अन्य आर्थिक वर्षमा अझै परिमार्जन गर्दै लैजाने छौं ।’

टिप्पणीहरू