राप्रपाद्वारा जिल्ला संयोजक माग, अनलाइन आवेदन आह्वान
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन वटा जिल्लाको संयोजक चयन गर्न अनलाइन आवेदन आह्वान गरेको छ । दाङ, मोरङ र रौतहटका लागि तदर्थ जिल्ला कार्यसमितिको संयोजक छनौट गर्न खुला आवेदन माग गरिएको बताइएको छ ।
गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि निष्क्रिय, विवादित र गतिविधि शून्य जिल्ला कार्यसमिति विघटन गरेपछि नयाँ तदर्थ समिति गठन गर्न लागिएको हो । त्यसका लागि संयोजक छनौट गर्न थालिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
पार्टीमा क्रियाशील सदस्य, राप्रपाको सिद्धान्तप्रति प्रतिबद्ध रही जिल्लाको साँगठनिक नेतृत्वमा कार्य गर्न इच्छुक व्यक्तिले आगामी असार ३ गतेभित्र आवेदन दिनुपर्ने उनले जानकारी दिए । राप्रपाको वेबसाइटमा रहेको फाराम भरेर इमेलमार्फत् आवेदन पठाउनुपर्नेछ ।
टिप्पणीहरू