बजेट अलपत्र पारेर काँग्रेस सभापति सिंगापुरतिर,आरजू नयाँ दिल्लीतिर

बजेट अलपत्र पारेर काँग्रेस सभापति सिंगापुरतिर,आरजू नयाँ दिल्लीतिर

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाँदै हुनुहुन्छ । उहाँ स्वास्थ्य उपचारको फलोअपका लागि त्यसतर्फ जान लाग्नुभएको बताइएको छ । 

उहाँकी पत्नी तथा काँग्रेस नेतृ डा.आरजू राणा देउवा भने अहिले नयाँ दिल्लीमा हुनुहुन्छ । उहाँ गत वर्षदेखि पाठेघरमा देखिएको समस्याको उपचार गर्ने भन्दै पटक पटक नयाँ दिल्ली आउजाउ गरिरहनुभएको छ । 

त्यसअघि हिपको हड्डीको उपचारको निम्ति जापान जानुभएको थियो । त्यतिबेला उहाँकी आमा तथा राप्रपा नेतृ प्रतिभा राणा टोकियोमा नेपाली राजदूत हुनुहुन्थ्यो । त्यसअघि पनि उहाँ उपचारको नाममा बेलाबखत बेलायत पुग्नुभएको थियो । त्यतिबेला बेलायतमा राजदूत रहेका दुबसु क्षेत्री अहिले जापानमा छन् ।

सभापति देउवाका निजी सचिव भानु देउवाका अनुसार पछिल्लो भ्रमण स्वास्थ्य उपचारमा केन्द्रित छ । यता,गठबन्धन सरकारले संसदमा प्रस्तुत गरेको बजेट माथि सत्तापक्षका सांसदहरुले चर्को विरोध गरेपछि सरकार अप्ठेरोमा परेको सहजै अनुमान लगाउन सकिन्छ । 

सभापति देउवासमेत मुलुक बाहिर रहने भएपछि संसद बैठक असार २ गतेसम्म स्थगित गरिएको छ । हिजो संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए पनि पारित गराउने प्रस्ताव गरिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाबीचको सहमतिमा संसद बैठक आगामी शनिबारसम्म स्थगित गरिएको स्रोतको दाबी छ ।  

बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सांसद तथा पूर्वमन्त्री प्रेम आले र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटेर संशोधनको माग गरिसकेको अवस्था छ । उहाँहरुले हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गर्नुभएको थियो ।

 

टिप्पणीहरू