मन्दिरै मन्दिरको शहरमा चर्चको संख्या चार हजार बढी, उपत्यका बाहिर पनि उत्तिकै
कुनै समय काठमाडौंलाई मन्दिरै मन्दिरको शहर भनिन्थ्यो । मन्दिरहरुमा कुँदिएका कला र त्यसको सौन्दर्यताका लागि विभिन्न मुलुकबाट पर्यटक र भक्तजनहरु आउँथे ।
तर, आज यहि सांस्कृतिक शहरमा चर्चको संख्या ह्वात्तै बढेको छ । वि.सं. २०७० सम्म काठमाडौंमा १८७ वटा चर्च रहेकोमा अहिले बढेर चार हजार नाघिसकेको बताइएको छ ।
एक दशकअघि गृह मन्त्रालयले तयार पारेको एउटा प्रतिवेदनमा मुलुकभर एक हजार ४०५ चर्च रहेको उल्लेख छ । हाल उक्त संख्यामा १० गुणाले वृद्धि भएर १५ हजार पुगिसकेको राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए ।
उनका अनुसार ललितपुरमा मात्रै दुई हजार आठ सय चर्च थपिएको छ । ११८ बाट चर्चको संख्या बढेर पछिल्लो एक दशकमा तीन हजार नाघेको छ । ललितपुरपछि सबैभन्दा बढी चर्च भएका जिल्लामा धादिङ, मकवानपुर र कञ्चनपुर छन् ।
सबैभन्दा सानो जिल्ला भक्तपुरमा पनि ९० वटाको हाराहारीमा चर्च खुलेका छन् । त्यस्तै, तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा ५०, रोल्पामा १०, रुकुममा २५ र सल्यानमा ५२ वटा चर्च छन् ।
पछिल्लो समय क्रिश्चियन धर्म विस्तारका लागि मुलुकमा युरोपेली, अमेरिकी संघसंस्थाहरु आबद्ध भएको बताइन्छ । नेपालमा क्रिश्चियन धर्म मान्ने १३ वटा सम्प्रदाय रहेको हालैको एक सर्वेक्षणले देखाएको छ । जसमा एउटै सम्प्रदायमा झण्डै सात लाख धर्मावलम्बी छन् ।
वि.सं.२०६८ सालको जनगणनाअनुसार मुलुकमा एक दशमलव चार प्रतिशत अर्थात तीन लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी थिए । हाल मुलुकमा ३० लाखको हाराहारीमा क्रिश्चियन धर्मावलम्बी रहेको जनाइएको छ ।
टिप्पणीहरू