व्यवसायीको मिलेमतोमा आयल निगमको तेल बाटैबाट गायब

व्यवसायीको मिलेमतोमा आयल निगमको तेल बाटैबाट गायब

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट तेल चोरी हुने कार्य रोकिएको छैन । सरकारले पेट्रोलिय पदार्थको ढुवानीमा सुरक्षता सतर्कता बढाएको बताए पनि व्यवसायीको मिलोमतोमा पेट्रोलियम पदार्थ चोरी हुने क्रम रोकिएको छैन । 

हिजो बिहान नेपाल आयल निगमको रुपन्देही, भलबारी डिपोमा जाँदै गरेको लु २ ख ७३७ नं को ट्यांकर पडसरीस्थित यादव पेट्रोल पम्पमा रोकियो । उक्त ट्यांकरमा लगाइएको सिल तोडेर तेल बेच्दै गरेको अवस्थामा नेपाल प्रहरीले चालक र सहचालकलाई पक्राउ गर्यो । व्यवसायीको सहयोगमा ट्यांकर चालकले तेल चोरेर पेट्रोल पम्पमा बेच्दै गरेको अवस्थामा प्रहरीले रंगेहात चालक र सहसचालकलाई पक्रेको हो । 

ओमसतिया गाउँपालिका १ मा रहेको यादव आयल फिलिङ सेन्टरको पछाडि लक गरेको ट्याङ्करको सिल तोडिएको हो । विशेष सूचनाको आधारमा निगरानी गर्दै जाँदा धमाधम ट्याङ्करबाट तेल चोरी भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । लु.२ ख ७३७ नम्बरको ट्याङ्करबाट दुई जना व्यक्तिले इन्धन झिकेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोशाकमा खटिएको टोलीले तेल चोर्दै गरेका चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।

ट्याङ्कर नजिकै इन्धन भरिएको अवस्थामा दुई वटा ग्यालेन, पाइप, नक्कली सिल, बाल्टिनलगायत सामाग्री समेत बरामद भएको छ । निगमको भलबारी डिपोका प्रबन्धक मनोहर डिसीले ट्यांकरको माथिल्लो भागमा रहेको सिल खोलेर इन्धन झिकिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । सिल तोडिएको, तेल भुईंमा चुहिएको र ड्रममा तेल भएकाले चोरी गरिएको हुनसक्ने प्रबन्धक डिसीको भनाई छ । 

ओमसतिया गाउँपालिकाको उक्त क्षेत्रमा भारतबाट इन्धन बोकेर आएका ट्याङ्करहरु रोकिन्छन् । भलबारीमा पुर्याउनुपर्ने ट्याङ्कर पार्किङ्को निम्ति उक्त क्षेत्रमा लामो समयसम्म रोकिने गरेका छन् । लामो समयसम्म रोकिँदा राति वा दिउँसोको समयमा जतिबेला पनि तेल चोरी हुने गरेको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्धन चोरीमा संलग्न ट्याङ्कर चालक र सहचालक दुबैलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । नियन्त्रणमा रहेको लु.२ ख ७३७ नम्बरको ट्याङ्कर पौडेल ढुवानी सेवा प्रालिका विष्णुदत्त पौडेलको हो ।

यादव आयलको मिलोमतोमा पार्किङ्को नाममा तेल चोर्ने गरिएको स्रोतको दाबी छ । अमलेखगञ्ज बारामा रहेको डिपोबाट डिजेल लोड गरेर नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी डिपोमा अनलोड हुन आएका ट्यांकरले करिब ७ किलोमिटर वरको बाटोमा रहेको पेट्रोल पम्पमा तेल झिकेर बेच्ने गरेका छन् । 

भारतबाट तेल लिएर आउने ट्याङ्करहरुलाई यादव आयलले पर्खालले घेरेर नदेख्ने बनाइएको छ । यसरी निकालिएको तेल यादव आयलले नै खरिद गर्ने गरेको स्रोतको दाबी छ । त्यहाँ दैनिक ४० वटासम्म ट्याङ्कर पुग्ने गर्छन् । पार्किङ्मा राखिएका ट्याङ्करबाट रातिदेखि बिहान ११ बजे सम्ममा तेल निकाल्ने गरिएको बताइन्छ । यादव पेट्रोल पम्प स्वर्गीय असर्फी यादवको नाममा भएपनि सबै रेखदेख भने रमण र शंकर यादवले गर्दै आएका छन् । 

यता पक्राउ परेकालाई चोरी आरोपमा मुद्दा चलाइने रुपन्देहीका एसपी भरत विश्वकर्माले बताए । निगमको भलबारीका प्रमुख जगदीशचन्द्र यादवले पनि कारबाहीको प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन् । यो क्षेत्रमा नौ वर्ष अगाडि पनि यसैगरी तेल चोरी हुने गरेको बताइन्छ । त्यतिबेला तेल चोरिएको अवस्थामा सवारी धनी, चालक र सहचालक पक्राउ परेका थिए । मुद्दा चलेपछि उनीहरुलाई जरिवाना गराइएको थियो । 
रुपन्देहीमा तेल चोरी अधिक हुने गरेको प्रमाण गत वैशाख ८ गते भैरहवा भन्सार कार्यालयले लु.१ ख ४८३९ नम्बरको ट्याङ्करमा मापदण्डभन्दा ३ हजार ३ सय ४८ लिटर पेट्रोल बढी ल्याएको बाट नै प्रष्ट हुन्छ । ट्याङ्कर एक्सप्रेस परिवहन सेवाका चोपनारायण श्रेष्ठको थियो । तेल चोरी काण्डमा पक्राउ परेका पेट्रोलियय व्यवसायी श्रेष्ठ ३१ लाख ७० हजार जरीवाना तिरेर छुटेका हुन् ।

केही वर्षअघि रुपन्देहीमा पेट्रोलिय पदार्थको कारोबार गर्ने व्यवसायीकै मिलोमतोमा जमिनमुनि चोरीको तेल राखिएको थियो । त्यतिबेला राष्ट्रिय सर्तकता केन्द्र र नेपाल प्रहरीको संयुक्त अपरेसनबाट हजारौं लिटर चोरिएको तल बरामद गरेपछि अदालतमा मुद्दा दायर गरियो । तत्कालीन रुपन्देही एसपी विक्रम सिंह थापाको अगुवाईमा उक्त कारबाही भएको थियो । त्यसयता थप कारबाही भए पनि तेल चोर्ने काम रोकिएको छैन ।

टिप्पणीहरू