बाघ खोरमा पसेपछि किसानको बाख्रा सखाप

बाघ खोरमा पसेपछि किसानको बाख्रा सखाप

सिन्धुपाल्चोकमा गारोको ढुङ्गा झिकेर खोरभित्र छिरेपछि भएभरको बाख्रा बाघले मारेको छ ।  गारो फोरेर बाघ खोरभित्र छिरेपछि सिन्धुपाल्चोकका पशुपालक किसान चिन्तित भएका छन् । आफ्ना खेतबारीमा लगाएका बाली हरिण, मृग, बदेल, बादरजस्ता वन्यजन्तुले नाश गरेर हैरान भएका किसानहरु दुःखजिलो गरेर पालेको आफ्ना चौपायामाथि पनि वन्यजन्तुकै गिद्धे दृष्टि पर्न थालेपछि झन् त्रसित दखिएका हुन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका धुसेनीमा गएराति बाघले एक किसानको खोर नै रित्तो पारेर बाख्रा मारेपछि किसानहरु चिन्तित् भएका हुन् । स्थानीय चमेली विकको खोरमा पसेर बाघले ९ वटा बाख्रा मारेको हो ।

विकको कटेरोको ढुंगामाटोको गारोको ढुंगा झिकेर बाघ गोठमा पसेको देखिन्छ । आय आर्जनको अन्य केही स्रोत नभएको र बाख्रापालनबाट नै आफ्नो जिविकोपार्जन गर्दै आइरहेकी विकको भएभरको बाख्रा मारेपछि उनीमाथि बज्रपात सरह भएको छ । ‘अब के गरेर खाने ?’ विकले गहभरि आँसु पार्दै भनिन् । 

बाघले गएराति नै  धुसेनीकै रामकृष्ण विकको पनि एउटा बाख्रा मारेको छ । पछिल्लो केही समयदेखि इन्द्रावतीमा बाघ आतंक बढ्दै गएपछि वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले बाघबाट बस्तुभाउ जोगाउन खोर र गोठलाई बलियो बनाई कृषकलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू