ताप्लेजुङमा बाढीको बितण्डा, भर्खरै बनाइएको पुल बग्यो

ताप्लेजुङमा बाढीको बितण्डा, भर्खरै बनाइएको पुल बग्यो

ताप्लेजुङमा बाढीको प्रकोपले ठूलो भौतिक क्षति भएको छ । अस्तिदेखि परेको लगातार वर्षाका कारण काबेली नदीमा आएको बाढीले सिदिङवा र सिरिजङ्गा गाउँपालिकाका विभिन्न भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । 

सिरिजङ्गाको याम्फुदिन र खेवाङ तथा सिदिङ्वाको सुरुम्खिम क्षेत्रमा अविरल वर्षाले घरसहित विभिन्न पूर्वाधारमा नोक्सानी पुर्याएको छ । काबेली खोलामा आएको बाढीका कारण याम्फुदिनका जगतबहादुर राई र तारामान गुरुङ घरविहीन भएका छन् । 

स्थानीय मनकुमार राईका अनुसार ८ किलोवाट क्षमताको लघु जलविद्युत परियोजनाको विद्युत गृह नै बाढीले बगाएको छ । बाढीले सिरिजङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत परियोजनामध्ये स्नोरिभर्सर परियोजनाको एउटा क्रसर, टान्सफर्मर र मजदुर बस्ने आवास समेत बगाएको परियोजनाका संयोजक मेघनाथ ढुङ्गानाले जानकारी दिएका छन् ।

सोही क्षेत्रको बल्लो भागमा हिलटन परियोजनाद्वारा निर्माणाधीन जलविद्युत परियोजनाको पम्प प्रेसर मेसिन र एउटा मिक्सचर पनि बाढीले लगेको छ । यता याम्फुदिनस्थित कञ्चनजंघा माविको करिब १५ मिटर पर काबेली खोला कुद्न थालेपछि विद्यालय प्रशासन र स्थानीयले विद्यालयका महत्वपूर्ण सामाग्री सुरक्षित स्थानमा सारेको बताइन्छ ।  

जेठ १३ गते उद्घाटित् सिरिजङ्गा र सिदिङ्गा गाउँपालिका जोड्ने बाँकेटारस्थित तावाखोला पुल पनि जोखिममा परेको छ । बाढीले एकातर्फको आधार भाग बगाएपछि पुलको अर्को भाग बीच खोलामा देखिएको छ । पुल गाउँपालिकाको करिब ४ करोड १० लाख बढीको लागतमा निर्माण गरिएको हो ।

गत वर्षको असारको पहिलो साता पनि अविरल वर्षाकै कारण पहिरो गई खेवाङमा एकघरका दुई जनाको मृत्यु भएको थियो । केही घाइते भएका थिए ।

टिप्पणीहरू