प्रदेशको नाम अंकमा लेखिएकोमा एमालेको आपत्ति

प्रदेशको नाम अंकमा लेखिएकोमा एमालेको आपत्ति

नेकपा एमालेले संघीय सरकारले कोशी प्रदेशको नाम अस्वीकार गरेको भन्दै आपत्ति जनाएको छ । 

विनियोजन विधेयक २०८० मा विभिन्न मन्त्रालयगत शीर्षकमा कोशी प्रदेश अस्वीकार गरेर प्रदेश १ राखिएको भन्दै एमाले सांसदले आज प्रतिनिधिसभा बैठकमा त्यसप्रति आपत्ति जनाएका हुन् । एमाले सचेतक महेश बर्ताैलाले प्रदेशसभाबाट अत्यधिक बहुमतले पारित गरेको नाम उल्लेख नगरेर अंकमा लेखिएकाले उक्त मन्त्रालयगतको शीर्षकमाथि छलफल हुन नसक्ने भन्दै सदनको ध्यानाकर्षण गराए । 

नाम नसच्याएसम्म छलफल हुनै नसक्ने उनले बताएपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको जानकारी दिनुभयो । त्यसपछि यसबारे जवाफ दिन पर्यटनमन्त्री सुदन किराँतीलाई समय दिइयो । मन्त्री किराँतीले पुस्तकको पेज नम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने जानकारी गराए पनि एमालेले नमानेपछि उक्त विषय कार्यसूचीबाट हटाइएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको हो ।

टिप्पणीहरू