उखरमाउलो गर्मीमा बिजुली नदिएपछि प्राधिकरण घेराउ
उखरमाउलो गर्मीमा विद्युत सेवा अनियमित भएपछि नेपालगञ्जका स्थानीयले नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र घेरेका छन् । बास नेपालको अगुवाईमा विद्युत कार्यालय घेराउ गरिएको बताइएको छ ।
प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा विरोधका लागि बिहान ११ बजे स्थानीयहरु पुगेका हुन् । यसअघि सो वितरण केन्द्रका प्रमुखलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि विद्युत सेवा अनियमित भएपछि आज स्थानीय क्रुद्ध हुँदै कार्यालय घेर्न पुगेको बताइन्छ ।
झण्डै ४० डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा विद्युत सेवा अनियमित हुँदा स्थानीय मर्कामा परेका हुन् । घेराउको क्रममा उनीहरुले चर्को नाराबाजी गरेका थिए ।

आक्रोशित स्थानीयले चर्काे गर्मीमा सडकमा सुतेर विरोध जनाएका थिए भने सुतेरै नाराबाजी गरेका हुन् । सडकमा सुतेरै उनीहरुले विद्युत अयिमितता बन्द गर, गफ होइन, विद्युत देउ, विद्युतको मनपरी बन्द गर, लोडसेडिङ तालिका देउ’ नारा लगाएका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा बोल्दै युवा अभियन्ता साहिल अन्सारीले विद्युत प्राधिकरणले गर्मी याममा विद्युत सेवा अनियमित गरेर अपराधपूर्ण कार्य गरेको बताए । उनले आक्रोशित हुँदै भने– नेपाल विद्युत प्राधिकरण होइन, नेपाल अपराधीकरण हो ।
अर्का युवा अभियन्ता प्रकाश कुवँरले गैरजिम्मेवार प्राधिकरणविरुद्ध नागरिकहरु एक हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै राजनीतिकर्मी विनोद अग्रहरीले विद्युत सेवा अनियमितताका कारण व्यक्तिगत सम्पत्तिमा क्षति पुगिरहेको उल्लेख गर्दै सोको क्षतिपूर्ति दिइनुपर्ने धारणा राखेका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले तत्काल विद्युत सेवा नियमित नभए चर्काे आन्दोलन गर्ने चेतावनी दिए । त्यसैगरी नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले प्राधिकरणको चरम लापरवाहीले आम नागरिकले सास्ती भोगेको भन्दै सोको चर्काे विरोध गरेका छन् ।
कार्यक्रमको अन्त्यमा नेपाल नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेललाई तीन दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइएको छ । ज्ञापन ग्रहण गर्दै प्याकुरेलले समस्या समाधानका लागि संस्था लागिपरेको बताए ।
विद्युत सेवा अनियमितविरुद्ध बुुझाइएको चार बुँदे ज्ञापनपत्रमा सेवा अनियमित हुनुको कारण माग गर्दै त्यसका लागि विभिन्न उपाय समेत दिइएको छ । आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
टिप्पणीहरू