बालेनलाई बिदेश जान बन्देज ?

बालेनलाई बिदेश जान बन्देज ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिका प्रमुख बालेन साहलाई विदेश उडानमा रोक लगाउन सकिनेसम्मको कानुनी व्यवस्थाबारे स्मरण गराएको छ । महानगरले प्राधिकरणलाई पटक पटक पत्र पठाएको र बिना जानकारी सुरक्षा घेराको रुपमा राखिएको फेन्सिङ तार काटेपछि दुई वटा सरकारी निकायबीच ‘काउण्टर लेटर’ को रस्साकस्सी भएको बताइन्छ ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जग्गामा सुरक्षार्थ लगाइएको फेन्सिङ तार काटेपछि प्राधिकरणले मेयरसँग हिजो कडा भाषामा स्पष्टीकरण सोधेको छ । पूर्व जानकारीबिना फेन्सिङ तार काटिदिएपछि मेयरसहित तीन जनालाई स्पष्टीकरण सोधिएको छ । 

बालेनको निर्देनशनमा भएको उक्त कार्य कानुनविपरीत रहेको प्राधिकरणको ठहर छ । स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएबाट सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरण ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नु ।’

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । नागरिक उड्डयनसँग सम्बन्धित कानुन उल्लंघन गरेको पुष्टि भएमा मेयरसहित तीनै जनालाई ५० हजार रुपैयाँसम्म जरिवाना र जरिवाना नतिरेमा उडानमा प्रतिबन्ध लगाउन सकिने प्रचलित कानुनी व्यवस्था छ ।

स्पष्टीकरण सोध्नुअघिको घटनाक्रम 

सिनामंगलस्थित प्राधिकरणको जग्गामा महानगरले पार्क बनाउने योजना बनायो । तर, उक्त पार्क बनाउने महानगरको तयारी बुझेपछि प्राधिकरणले आफ्नो जग्गा संरक्षण गर्न पूरै जग्गा फेन्सिङ तारले बेर्यो । जग्गामा तारबार गरेपछि महानगरका मेयर, वडाध्यक्ष सबैभन्दा धेरै रुष्ट देखिए । लगत्तै तार काट्न निर्देशन दिए । महानगर प्रहरीले अस्ति तार काटिदियो ।

यसबीच प्राधिकरणले नक्सा नबनाई भवन खडा गरेको आरोप लगाएको थियो । त्यत्रो भवन निर्माण सम्पन्न हुने बेलासम्म चुप लागेको महानगर पनि जग्गामा पार्क बनाउन नपाउने भएपछि सरकारी अड्डासँग नक्साको खोंचे थाप्न थाल्यो ।

लगत्तै तार काटेको मेसोमा मेयरलाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो । नागरिक उड्डयन कानुनमा रहेको विद्यमान व्यवस्थालाई उल्लेख गर्दै प्राधिकरणले बालेनलाई विदेश उड्नबाट रोक्न सकिने प्रचलित कानुनबारे पूर्वजानकारीको चेतावनी दिएपछि दुई संस्थाबीच आरोप प्रत्यारोप चलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणमातहत भएकोले उसले त्यहाँबाट कसैलाई पनि बिदेश जान नदिन सक्ने जानकारहरु बताउँछन् ।

टिप्पणीहरू