पहिले विनोद चौधरीको मेजमानी,अहिले ‘र’ को चिफ

पहिले विनोद चौधरीको मेजमानी,अहिले ‘र’ को चिफ

भारतीय वाह्य खुफिया एजेन्सी ‘र’ को नयाँ प्रमुखमा रवि सिन्हा हिजो नियुक्त भएका छन् । क्याबिनेट बैठकले सिन्हालाई हालका प्रमुख सामन्त गोयलको स्थानमा नियुक्त गरेको हो ।

सिन्हाले जुलाई १ तारिखदेखि नयाँ जिम्मेवारी लिनेछन् । सन् १९८८ को इण्डियन पुलिस सर्भिस (आईपीएस) अफिसर ब्याचका उनको कार्यकाल दुई वर्षको हुनेछ । 

सिन्हा क्याबिनेट सचिवालयमा विशेष सचिवको रुपमा कार्यरत थिए । तर, ‘र’ चिफमा उनको नियुक्तिको सम्भावनाबारे जनआस्थाले गत जेठ १० गते नै उल्लेख गरेको थियो । जनआस्था साप्ताहिकले त्यसदिन पहिलो पृष्ठमा ‘र’ को टोली रातारात राजधानीमा शीर्षकमा त्यसबारे लेखेको थियो ।

जेठ ५ गते सुनौली नाकाबाट स्थलमार्ग हुँदै काठमाडौं आएको तीन सदस्यीय टोलीमा सिन्हाका अतिरिक्त श्रीधर राव र अभयकुमार पनि थिए । ‘र’ को आगामी प्रमुखको रुपमा वष्ठिताको आधारमा शशीभुषण तमोर,रवि सिन्हा र श्रीधर राव प्रतिस्पर्धी रहेको जनआस्थाको समाचारमा उल्लेख छ । 

सोही समाचारमा लेखिएको थियो, ‘उक्त टोलीमा ‘र’  चिफ सामन्त गोयलपछि अर्को महिनादेखि प्रमुख हुने सूचीका तीनमध्ये एक मानिने श्रीधर राव र रवि सिन्हा पनि आएका छन्  । गोयलको गत वर्ष थपिएको म्याद अर्को महिना सकिँदैछ । भारतीय सरकारले गत वर्षको जुन २४ तारिखमा गरेको निर्णयअनुसार यो वर्षको जुन ३० सम्म उनको म्याद कायम छ । उनले अवकाश पाएपछि ‘र’ प्रमुखका रुपमा तीन दाबेदारमध्ये इण्डियन पुलिस सर्भिस (आईपीएस) को १९ औं ब्याचका शशिभुषण तोमर,रवि सिन्हा र श्रीधर राव हुन् ।’

काठमाडौं आएको उक्त टोली बत्तिसपुतलीको होटल द्वारिकाजमा बसे पनि मारवाडी व्यवसायी विनोद चौधरीले ललितपुरको आफ्नै होटल भिभान्ता र नक्सालको मेरियटमा मेजमानी उपलब्ध गराएका थिए ।
 

टिप्पणीहरू