सिमसार क्षेत्रको जग्गा प्लटिङ गर्नेलाई महानगरले नछोड्ने

सिमसार क्षेत्रको जग्गा प्लटिङ गर्नेलाई महानगरले नछोड्ने

पोखरा महानगरपालिकाले फेवाताल वरपरको सिमसार क्षेत्रको जग्गा किनबेच नगर्न पुन: ध्यानाकर्षण गराएको छ ।  

दलालहरुले सो क्षेत्रको जग्गालाई आवास भनि भ्रममा पारेर किनबेच गरिरहेको गुनासो बढेपछि महानगरले चासो देखाएको हो । सो क्षेत्रमा ‘प्लटिङ्ग’ गरी घडेरीहरु बिक्रीमा भनेर प्रचारसमेत गरेको पाइएको महानगरपालिकाले जनाएको छ । सिमसार क्षेत्र कृषिबाहेक अन्य कुनै पनि प्रयोजनमा उपयोग गर्न नपाइने पनि महानगरले स्पष्ट पारेको छ । 

मेयर धनराज आचार्यले कृषिबाहेक अन्य प्रयोजनका लागि सिमसार क्षेत्रको प्रयोग गर्न नपाइने जनाएका छन् । सो क्षेत्रमा कुनै पनि हालतमा आवास निर्माण गर्न नदिने उल्लेख गर्दै उनले सिमसारलाई असर नगर्ने गरी फलफूल रोप्न तथा कृषि गर्न सकिने बताए । 

महानगरपालिकाले उक्त क्षेत्रको ९० रोपनी जग्गामा गरिएको ‘प्लटिङ्ग’ केही दिनअघि भत्काएको थियो । त्यस्तै, केही व्यक्ति र समूहले अनधिकृत रुपमा वन क्षेत्र कटान गरी सिमसार क्षेत्र पुरेपछि महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाएको छ । 

सिमसार पुर्न प्रयोग गरिएका दर्जन बढी टिपर र जेसिबीका चाबीहरु महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
 

टिप्पणीहरू