महानगर प्रमुख बालेनसँग १५ करोडबारे भोलि पुल्चोकमा छलफल

महानगर प्रमुख बालेनसँग १५ करोडबारे भोलि पुल्चोकमा छलफल

काठमाडौंको भृकुटीमण्डपमा उद्घाटित शैक्षिक मेलामाथि हस्तक्षेप गर्दै रोक लगाइएको विवादमा उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भोलिको छलफलमा उपस्थित हुन आदेश दिएको छ । उपस्थित हुन बालेनका नाममा जारी म्याद आजै तामेल भइसकेको छ । 

मेला रोकिएको कारण १५ करोड रुपैयाँ क्षति पुगेको बताउँदै आयोजकहरुले काठमाडौं महानगरसँग क्षतिपूर्ति मागेका छन् । ७५ वटा शिक्षण संस्थाको सहभागिता रहेको उक्त मेला सबै प्रक्रिया पूरा गरेर सञ्चालन गरिएको आयोजकको दाबी छ । अदालतमा बालेन र रिट निवेदकबीचको छलफलपछि क्षतिपूर्तिबारे आवश्यक निर्णय हुने छ । महानगरको हस्तक्षेपविरुद्ध मेयरलाई विपक्षी बनाउँदै निजी शैक्षिक संस्थाको साझा सञ्जाल (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । 

गत जेठ ३१ गते ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित ‘आठौं कान्तिपुर हिसान एडुफेयर’ मेला उद्घाटनलगत्तै महानगरले तुल र स्टल हटाएर तालाबन्दी गरिदिएको थियो । त्यसपछि आयोजक संस्थाका प्रतिनिधिलाई तितरबितर पारेको थियो । मेलामा अवरोध पुर्याएका कारण विद्यार्थी, प्राज्ञिक वर्ग अभिभावक सूसुचित हुने अधिकारबाट वञ्चित भएको प्रश्नसमेत अदालतमा उठाइएको छ ।

शिक्षा मन्त्रालयको स्वीकृति लिएर गरेको कार्यक्रममाथि महानगरले हस्तक्षेप गरेको हिसानको आरोप छ । महानगरबाट  गैरन्यायिक हस्तक्षेप भएको बताउँदै क्षमायाचना गरेर आर्थिक क्षतिपूर्ति एवम् शैक्षिक मेला सञ्चालन गर्न दिनुपर्ने आयोजकको माग छ । विशेषगरी एसईई दिएका विद्यार्थीलाई लक्षित गरेर उक्त मेला आयोजना गरिएको थियो । मेलामा काठमाडौं विश्वविद्यालयसहित ७५ शिक्षण संस्थाको सहभागिता थियो ।

मेला पुनः सञ्चान गर्न दिन र महानगरलाई १५ करोड रुपैयाँ क्षतिपूर्ति भराउन हिसानले दायर गरेको रिटमा उल्लेख छ । उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासमा भएको आजको सुनुवाइपछि महानगरलाई छलफलमा डाकिएको हो । उक्त प्रकरणमा उच्च अदालतले महानगरसँग कारण पनि मागेको छ । 

मेला सञ्चालन भइरहेका बेलामा मेयर बालेनले महानगर प्रहरी लगाउँदै हस्तक्षेप गरेका कारण आयोजकले अदालत गुहार्नु परेको बताएका छन् । रिट निवेदनमा भनिएको छ, ‘शिक्षा मन्त्रालयबाट अनुमति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरलाई जानकारी दिएर सुरु भएको मेला कुनै लिखित जानकारीबिना नै कर्मचारी सुरक्षाकर्मी आएर बन्द गराइयो ।’

टिप्पणीहरू