अदालत अगाडि प्रदर्शन, आन्दोलनकारी र प्रहरीबीच झडप
रहस्यमय तवरले ज्यान गुमाएकी आरतीकुमारी साहलाई न्यायको माग गर्दै माइती पक्षले धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका ३, मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम उपमहानगरपालिका ९, थापाचोक बस्दै आएकी २२ वर्षीया आरतीको मृत्यु प्रकरणमा अनुसन्धान फितलो भएको आरोप लगाउँदै माइती पक्षले विरोध प्रदर्शन गरेका हुन् ।
दाइजोको कारण आफ्नी बहिनीलाई मारेको मृतकको भाइ नमोनाथ साहको आरोप छ । आन्दोलनका क्रममा उनीहरुले अदालत परिसरमा ढुंगामुढा गरेका थिए । सो क्रममा प्रहरीको हस्तक्षेपपछि झडपसमेत भएको बताइन्छ ।
प्रहरीको लाठीचार्जबाट चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का र प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले आन्दोलनकारीलाई कुटपिट गरेपछि आन्दोलन चर्काएका उनीहरुले एसपी खड्का र डिएसपी गौतमको निलम्बनको माग गरेका छन् ।
त्यस्तै, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरहरुमाथि पनि अनुसन्धान हुनुपर्ने पीडित पक्षको माग छ । मोतीबाबु साहकी श्रीमती आरतीको गत जेठ ७ गते रहस्यमय तवरले मृत्यु भएको थियो ।
पीडित पक्षले निष्पक्ष अनुसन्धानको माग गर्दै जनकपुरधाम र काठमाडौंमा निरन्तर आन्दोलन गरिरहेका छन् ।
टिप्पणीहरू