वाशिंगटनमा भारतीय प्रधानमन्त्रीको विरोध, न्युयोर्कमा इलोन मस्कले भने : म उनको फ्यान हुँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ इलोन मस्कले भेटघाट गरेका छन् । अमेरिका भ्रमणको क्रममा स्थानीय समयानुसार मंगलबार राति न्युयोर्क पुगेलगत्तै मोदी र मस्कबीच भेटवार्ता भएको बताइएको छ ।
प्यालेस होटलमा भएको भेटपछि मस्कले भने, ‘म मोदीको प्रशंसक हुँ ।’ उनको कम्पनी टेस्लाले भारतमा विद्युतीय कार निर्माण कारखाना खोल्ने तयारी गरिरहेको छ ।
बुधबार बिहान उनी संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना गर्न लागिएको योगा कार्यक्रममा सहभागी हुँदैछन् । तीन दिने अमेरिका भ्रमणको क्रममा उनी बुधबार दिउँसो वाशिंगटन डिसी पुग्ने कार्यक्रम छ । राष्ट्रपति बाइडनसँगको भेटअघि उनले अमेरिकी संसद कँग्रेसको संयुक्त सभालाई सम्बोधन गर्नेछन् ।
यता वाशिंगटनमा ७५ जना सांसद तथा सिनेटरहरुले राष्ट्रपति जो बाइडनलाई मोदीको विरोधमा संयुक्त पत्र बुझाएका छन् । उनीहरुले भारतमा कायम रहेको मानवअधिकारको दयनीय स्थितिबारे कुरा गर्न आग्रह गरेका छन् ।
पत्रमा लेखिएको छ, ‘भारतमा धार्मिक असहिष्णुता, प्रेस स्वतन्त्रता, इन्टरनेटमाथिको पहुँच र नागरिक समाजका समूहमाथि भइरहेको व्यवहारप्रति चिन्तित छौं ।’ मोदीको यो पाँचौ पटकको अमेरिका भ्रमण हो । भारतले अमेरिकासँग तीन अर्ब डलरमा ३१ वटा ‘एम क्यू नाइन–बी, सी–गार्डियन ड्रोन’ खरिदको सम्झौता गर्दैछ ।
टिप्पणीहरू